विवेक शर्मा, रौतहट
रौतहटका एक जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। एम्बुलेन्सबाट गएराति ९ बजे उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।
जिल्लाको राजपुर–९ बैरियाका ४० वर्षीय पुरुषलाई राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डबाट थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले जानकारी गराएका हुन् ।
संक्रमित व्याक्ति भारतबाट एक साताअघि गाउँ आएपछि क्वारेन्टाइनमा राखिएकोमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछी उनलाई राजपुर स्थित रहेको राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डको छुटै कोठामा राखिएको थियो।
सङ्क्रमित व्यक्ती कोरोना सङ्गै मधुमेहका रोगी पनि हुन् । ‘शुक्रवार बेलुका अचानक उनको हातखुटा झमझमाउन थाल्यो’ शाहले भने ‘स्वासप्रस्वासमा पनि समस्या देखिएको र बेचैनी बढेपछि शुरुमा वीरगंज लगिने योजना बनाइयो पछि वीरगंजका चिकित्सकहरुको सल्लाहमा काठमाडौं पठाइएको हो ।’