संजय आचार्य, पोखरा
रुकुम पश्चिममा दलित युवाको हत्या विरोधमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतिघर मण्डलामा उनीहरुले घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले नेपालको संविधान र कानूनको पूर्ण रुपमा पालना गर्नुपर्ने, पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति दिनुपर्ने, उक्त घटनाको दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै मौन रुपमा प्लेकार्ड प्रर्दशन गरेका थिए । रुकुम पश्चिममा अन्तरजातीय विवाहको विषयमा भएको हत्याको घट्ना पासविक र निन्धनीय रहेको प्रदर्शनमा सहभागिहरुको भनाई छ ।
जाजरकोटको भेरी नगरपालिकाका दलित समुदायका युवक नवराज विश्वकर्मासहितलाई रुकुम पश्चिम चौरजहारी घर भएकी कथित माथिल्लो जातकी प्रेमिकासंग विवाह गर्न खोजेको भन्दै जेठ १० गते केटी पक्षकाहरुले नवराजसहित उनीसँगै रहेका युवाहरुलाई बर्बरतापूर्वक हत्या गरी भेरी नदीमा फालेको बताइएको छ ।