झापाको एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

झापाको एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

भद्रपुर : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भेटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना सङ्क्रमित पुष्टि भएको छ । यसअघि ४८ सङ्क्रमित पुष्टि भई उनीहरुलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो । पालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताउनुभयो ।

उहाँले सङ्क्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन् । “जति पनि सङ्क्रमित पुष्टि भएका छन्, उनीहरु सबै क्वारेनटाइनमा बसेका हुन्”, उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टिनमा राख्दा थप समुदाय सङ्क्रमित हुनबाट जोगियो ।”

उहाँका अनुसार पालिकाभित्रका छ क्वारेन्टिनक्वारेनटाइनमा राखिएकामध्ये २७६ को स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो । जसमध्ये ७३ को रिर्पोट सङ्क्रमित पुष्टि भइसकेको छ भने ३५ जनाको रिर्पोट आउन बाँकी रहेको उहाँको भनाइ छ ।

पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेनटाइन निर्माण गरिएको उहाँले बताउनुभयो । क्वारेनटाइनमा बसेकामध्ये १०० जनाको स्वाब परीक्षण गर्न अझै बाँकी रहेको उहाँको भनाइ छ ।

अध्यक्ष आलमले भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका र अध्ययनका लागि गएकामध्ये ४०० बढी आइसकेको बताउनुभयो । झापामा यसअघि बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका दुई–दुई, दमकका एक र झापा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये दमक र बाह्रदशीका एक–एक निको भएर फर्किसकेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वर पौडेलले बताउनुभयो । पौडलले प्रदेश नं १ मा मात्र सङ्क्रमितको सङ्ख्या १२९ पुगेको र सबैभन्दा बढी झापाको रहेको जानकारी दिनुभयो ।

सम्बन्धित खवर