५ वर्षदेखि बजेट भाषणमै सीमित लामाबगर–लप्ची सडक

५ वर्षदेखि बजेट भाषणमै सीमित लामाबगर–लप्ची सडक

दोलखा :  पछिल्लो ५ वर्षदेखिको बजेटमा नछुटेको तर काम कहिल्यै सुरु हुन नसकेको नेपाल चीन जोड्ने लामाबगर–लप्ची सडक आगामी आर्थिक वर्षको बजेटमा पनि सम्भाव्यता अध्ययनमै सीमित हुने भएको छ ।

चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो र सुरक्षित लामाबगर नाका खोल्ने काम ५ वर्षदेखि बजेट भाषणमै सीमित भएको हो । अघिल्लो वर्ष पनि सम्भाव्यता अध्ययनको लागि भन्दै एक करोड बजेट विनियोजना गरिएको भए पनि रकम अभावले योजनाको केही काम हुन सकेको छैन । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरदेखि लप्ची नाका खुलाउन वर्षैपिच्छे बजेट छुट्टिन्छ काम हुँदैन । २०२२ सालसम्म पैदल आउजाउ गर्ने मार्गका रूपमा निकै चल्तीको लामाबगर नाका सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा पनि पुरानो र चीन–भारत जोड्ने छोटो र भरपर्दो नाका रहेको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का बताउँदै आएका छन् ।

स्थानीय तहको बजेटले केही हुन नसक्ने जनाउँदै उनले पटकपटक तिब्बतसँग जोडिएको नेपालको पुरानो लामाबगर नाका खुलाउन जोड दिँदै आए पनि आगामी बजेटले पनि निराशा पैदा गरिदिएको गुनासो गरे । तातोपानी नाकाभन्दा दोलखाको लामाबगर नाका करिब ७१ किलोमिटर नजिक रहेको बताइन्छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेको केरुङ र तातोपानी नाकाभन्दा लामाबगर नाकाको सडक सुरक्षित रहेको प्राविधिकहरू बताउँछन् ।

तिब्बतको ङ्याङ्लुङदेखि काठमाडौँसम्म करिब दुईसय किलोमिटर रहेको छ भने भारतको सिमाना भिट्टामोडसम्म पुग्न करिब २५० किलोमिटर दूरी रहेको बताइएको छ । नेपालको लामाबगरदेखि तिब्बतको सिमाना ङ्याङ्लुङमा पुग्ने करिब आठ किलोमिटरको दूरीबाहेक सबै सडक निर्माण भइ सुचारु भइसकेकाले पनि यो नाका खुलाउन धेरै आर्थिक भार नपर्ने जानकारहरु बताउँछन् । तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको अध्ययनले नाका खुलाउन करिब डेढ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको थियो ।

भारतीय नाकाबन्दीपछि सरकारले चीन सरकारसँग उत्तरका थप छवटा नाका खोल्न २०७२ असोज २७ गते गरेको समझदारीमा दोलखाको लामाबगर नाका पनि समावेश गरेको थियो । सुरक्षित, छोटो र परम्परादेखि चल्तीमा रहेको लामाबगर नाका खोलेर चीन, नेपाल र भारतबीच त्रिदेशीय व्यापारलाई समेत सहज गर्न सकिने भएकाले सरकारले शीघ्र यो नाका सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ ।

सम्बन्धित खवर