गणतन्त्रलाई जीवन पद्धतिका रूपमा स्थापित गरौँ : प्रदेश प्रमुख शेरचन

गणतन्त्रलाई जीवन पद्धतिका रूपमा स्थापित गरौँ : प्रदेश प्रमुख शेरचन

कास्की : गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गणतन्त्रलाई जीवन पद्धतिका रूपमा स्थापित गर्नु अहिलेको दायित्व रहेको बताउनुभएको छ । तेह्रौँ गणतन्त्र दिवस–२०७७ का अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले ऐतिहासिक जनआन्दोलनलगायत बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई सुदृढ बनाउँदै समृद्धिको सपना पूरा गर्ने दिशामा तीनै तहका सरकार प्रयासरत रहेको समेत उल्लेख गर्नुभयो ।

शुभकामना सन्देशमा उहाँले ज्ञात–अज्ञात अमर शहीदप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी दाजुभाइमा मङ्गलमय शुभकामना प्रकट गर्नुभएको छ । यस ऐतिहासिक दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकतालाई सुदृढ गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकाङ्क्षा सार्थक बनाउन प्ररेणा मिलोस् भन्ने कामनासमेत उहाँले गर्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि पछिल्लो समय बढिरहेको भन्दै उहाँले बढ्दो सङ्क्रमण आगामी दिन अझै चुनौतीपूर्ण हुने देखिएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका सबैखाले प्रयास सफल हुने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले जनतालाई घरमै बस्न र सुरक्षित रहन अपिलसमेत गर्नुभएको छ ।

सम्बन्धित खवर