आज १३ औं गणतन्त्र दिवस मनाइँदै

आज १३ औं गणतन्त्र दिवस मनाइँदै

काठमाडौं : आज १३ औं गणतन्त्र दिवस, मुलुकभर मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाइन्छ ।

यस अवसरमा राष्ट्रप्रमुखबाट राष्ट्रिय गौरव बढाउन महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई विभिन्न मान पद्वी र विभूषण प्रदान गरिन्छ । साथै यस राष्ट्रिय पर्वमा बन्दी जीवन बिताइरहेका व्यक्तिको चारित्रिक सुधारको आधारमा बाँकी कैद मिनाहा गरी माफी दिने चलन छ । यस वर्ष कारोना भाइरसको महामारीका कारण गणतन्त्र दिवस औपचारिक समारोह नगरी मनाइने भएको छ ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताहरुले शहीदप्रति सम्मान व्यक्त गर्दै शुभकामना सन्देश दिनुभएको छ । गणतन्त्र दिवसमा स्वदेश तथा विदेशस्थित सरकारी कार्यालय र नियोगमा सार्वजनिक बिदा दिने चलन छ ।

सम्बन्धित खवर