नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बुधबारमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।
संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्। सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाएकाले पनि धेरै संक्रमित भेटिएका हुन्।
बुधबारसम्म ५८ हजार २७७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। तीमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।