बैठकमा सांसद डा. मीनेन्द्र रिजालले संविधान संशोधनका लागि सर्वदलीय बैठक र समझदारी बढ्नु सकारात्मक भए पनि त्यस्ता बैठकमा भएका निर्णय संसद्लाई जानकारी दिने परम्परा शुरु गर्न आग्रह गर्नुभयो ।
सांसद मोहन बानियाँले अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी भएकामा खुशी व्यक्त गर्दै वार्ताबाट भूमि फिर्ता ल्याउन आग्रह गर्नुभयो । सांसद मीना सुब्बाले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन खुट्टा नकमाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद रामबहादुर विष्टले भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीले दिएको योगदानलाई बिर्सेर भारतले नेपाली भूभागमा अतिक्रमण गर्नु दुःखको विषय भएको बताउनुभयो ।
सांसद रेखा शर्माले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गरेकामा सरकारलाई धन्यवाद दिँदै कूटनीतिक वार्ताबाट भूमि फिर्ता गर्न आग्रह गर्नुभयो । सांसद रेनुका गुरुङले सुगौली सन्धिका आधारमा नेपालको भूभागमा भारतले अतिक्रमण गर्नु दुःखद् भएकाले ग्रेटर नेपाललाई कायम राख्ने गरी पहल गर्न माग गर्नुभयो ।
बैठकमा सांसद मातृकाप्रसाद यादवले कोरोना सङ्कटको दीर्घकालीन व्यवस्थापन गर्न आग्रह गर्नुभयो । सांसद राजेन्द्रप्रसाद गौतमले बन्दाबन्दीको अवधि थपिँदै जाँदा खाने वर्ग बढी प्रभावित भएकाले ती वर्गका लागि विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो । सांसद विमला विकले तराईका क्षेत्रमा भारतबाट फर्केकालाई अनिवार्य परीक्षण र बर्दियामा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न माग गर्नुभयो ।
सांसद भरतकुमार साहले धानको बीउ राख्ने समयमा सहजरुपमा किसानले बीउ प्राप्त नगरेको गुनासो गर्नुभयो । सांसद भीमसेनदास प्रधानले काठमाडौँ बाहिरबाट आउनेलाई उचित जाँच गरी क्वारेन्टिनमा राख्न सुझाव दिनुभयो । सांसद भैरवबहादुर सिंहले भारतमा रहेका नेपालीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको उपयुक्त व्यवहार नगरेको बताउनुभयो । सांसद विमलप्रसाद श्रीवास्तवले भारतमा अलपत्र परेकालाई स्वदेश ल्याउन माग गर्नुभयो ।
बैठकमा भवानीप्रसाद खापुङ, महेश्वरजङ्ग गहतराज, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, नवीन्द्रराज शर्मा, राजबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेखा कुमारी, लक्ष्मीकुमारी चौधरीलगायतले जनजीवनका विभिन्न सवालमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको थियो ।




