बन्दाबन्दीकै बीच सडक निर्माणः स्थानीयवासी उत्साहित

बन्दाबन्दीकै बीच सडक निर्माणः स्थानीयवासी उत्साहित

गलकोट : बन्दाबन्दीका कारण रोकिएको बागलुङ सदरमुकामदेखि जिल्लाको जैमिनी नगरपालिका जोड्ने सडक निर्माणको काम थालिएको छ ।

सामाजिक दूरी कायम गर्दै सडक निर्माणको काम थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । बन्दाबन्दीका कारण गत चैत १० गतेदेखि निर्माण रोकिएका सडक आयोजनाको काम स्थानीय प्रशासनको अनुमतिमा थालिएको सडक निर्माणको जिम्मा पाएको प्यासेफिक कर्ण जेभीका आधिकारिक प्रतिनिधि हेम गुरुङले जानकारी दिनुभयो । मजदुरले काम पनि पाउने र विकाससँगै आर्थिक गतिविधि पनि चलायमान हुने भएकाले भीडभाड नहुने गरी काम थालनी गरिएको उहाँको भनाइ छ ।

जैमिनी नगरपालिकालाई कालोपत्र सडकमा जोड्ने गरी पाग्जा–टाकुरी सडक खण्डको निर्माण कार्य तीव्र छ । गण्डकी प्रदेश सरकारको दुई वर्षे आयोजनामा विनियोजन भएको बजेटबाट निर्माण भइरहेको बागलुङ नगरपालिका १३, १४ र जैमिनी नगरपालिका जोड्ने गरी १० किलोमिटर सडक खण्डको कालोपत्र गर्ने तयारी गरिएको छ । सो सडक खण्ड कालोपत्र भएमा जैमिनी नगरपालिकाको सिमाना नजिकै कालोपत्र सडक पुग्नेछ । अहिले उक्त सडक खण्डमा दिनमा मात्रै होइन, रातको समयमा समेत ग्राभेलको कार्य भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

विसं २०७८ असार मसान्तसम्म कालोपत्र गर्ने गरी २०७६ असार मसान्तमा रु २६ करोडमा प्यासेफिक कर्ण जेभीले निर्माणको जिम्मा पाएको छ । सडक निर्माण कार्य दिनमा भन्दा रातको समयमा बढी गर्दै आएको गुरुङले जानकारी दिनुभयो । बन्दाबन्दी नभएको भए ७७ असारमा सडक कालोपत्र गर्ने लक्ष्य भए पनि केही समस्या भएको निर्माण कम्पनीले सामाजिक दूरी कायम गरी स्थानीय मजदुरलाई रोजगारी दिएर काममा लगाएको छ । “दिनमा मात्र होइन रातको समयमा समेत ठूला उपकरणको सहायताले सडक ग्राभेल भइरहेको छ”, गुरुङले भन्नुभयो, “पूर्वाधार निर्माणको ९० प्रतिशत काम पूरा भएकाले मजदुरको काम लगभग छैन, अहिले ठूला औजारको सहायताले सडक निर्माणले अन्तिम रुप लिन थालेको छ ।”

अबको एक महिनामा कालोपत्रका लागि सडक तयारी हुनेछ । बन्दाबन्दी खुल्नासाथ सडक कालोपत्रको काम शुरु हुने निर्माण कम्पनीले जनाएको छ । सडक कालोपत्र भएमा बागलुङ नगरपालिकाको सबैभन्दा धेरै कालोपत्र भएको पहिलो सडक बन्ने र निर्माणकार्य सन्तोषजनक रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । अधिकांश निर्माण कम्पनीले म्याद थप्दासमेत निर्माण कार्य नसकेको अवस्थामा म्याद सकिनु एक वर्षअगावै सडकले अन्तिम रुप लिनु प्रशंसनीय भएको उहाँको भनाइ छ । दुई स्थानीय तह जोड्नका लागि गण्डकी प्रदेशले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको गण्डकी प्रदेशले जनाएको छ ।

सडक कालोपत्र हुन थालेपछि यस क्षेत्रका बासिन्दा उत्साहित रहेको बागलुङ नगरपलिका–१४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा कालोपत्रका लागि आवश्यक चिप्स, अलकत्रा र विटामिनको ढुवानी गर्न सके अबको चार महिनाभित्रै सडक सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीको दाबी छ । “सात किलोटिर सडक कालोपत्र गर्नमात्र बाँकी अवस्थामा छ”, गुरुङले भन्नुभयो, “तीन किलोमिटरमा धमाधम ग्राभेलको कार्य भइरहेको छ ।”

सो सडक निर्माण भएमा बागलुङ जिल्ला सदरमुकामदेखि जिल्लाको जैमिनी नगरपालिकालाई कालोपत्र सडकसँग जोडिनेछ भने बागलुङको दुर्गम गाउँपालिकाका रुपमा रहेको बरेङ गाउँपालिका पुग्नका लागि सहज हुनेछ । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मिशेरामा गत वर्ष १।६ किलोमिटर सडक मात्र कालोपत्र सडक छ । उक्त १० किलोमिटर सडक कालोपत्र सम्पन्न भएमा जैमिनी नगरपालिका–१ कुश्मिशेराको सिमाना नजिकै कालोपत्र सडकको पहुँच पुग्नेछ ।

सम्बन्धित खवर