आज संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

आज संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

काठमाडौँ : आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश हुँदैछ । संसद बैठक आज दिउँसो २ बजे बस्दै छ ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।

त्यसअघि मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान दोस्रो पटक संशोधन गर्न लागिएको हो । यसअघि पहिलो संशोधन, संविधान जारी गरिएको वर्ष असोज १० गते गरिएको थियो ।

सम्बन्धित खवर