त्रिनगरबाट एकै दिन पाँच हजार भित्रिए, चुनौती थपिँदै

त्रिनगरबाट एकै दिन पाँच हजार भित्रिए, चुनौती थपिँदै

डोटी: कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ छन् ।

जिल्ला प्रवेश गरेका दुई हजार ८७९ जनालाई जिल्लाका नौवटै स्थानीय तहले तयार पारेका ६७ क्वारेनटाइनमा राखिएको जिल्ला प्रशसान कार्यालय डोटीले जनाएको छ । जिल्लाको शिखर नगरपालिकाका नागरिक सबैभन्दा बढी भारतबाट फर्किएका छन् । भारतबाट फर्किकाका स्थानीयका कारण यहाँको चहलपहल पनि बढ्दै गएको छ ।

उनीहरुलाई बिनाजाँच यहाँका स्थानीय तहले आफ्ना क्वारेनटाइनमा राख्न थालेको छ । कोरोना भाइरसको जाँच गर्ने आरडिटी किट नभएका कारण उनीहरुलाई बिनाजाँच क्वारेनटाइनमा राख्न थालिएको हो ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकामा ५६६, शिखर नगरपालिकामा ६३३, सायल गाउँपालिकामा २५९, केआइसिंह गाउँपालिकामा ५१४, जोरायल गाउँपालिकामा ६३, बोगटान फुड्सिल गाउँपालिकामा २१४, बडिकेदार गाउँपालिकामा २४२, आदर्श गाउँपालिकामा २८५ र पूर्वीचौकी गाउँपालिकामा १०३ गरेर कूल दुई हजार ८७९ राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेनटाइनमा राखिएकामा महिला ७९, पुरुष दुई हजार ७८४ र बालबालिका १६ रहेका छन् ।

त्यस्तै जिल्लामा रहेका क्वारेनटाइनको बेड (श्यया) सङ्ख्या एक हजार २८३, आइसोलेसन श्यया सङ्ख्या ५१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म ३६९ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये ३५९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १० जनाको रिर्पोट आउन बाँकी छ ।

जिल्लामा दुई हजार ८२ जनाको आरडिटी गरिएको छ । जसमा दुई हजार ७८ जनाको नेगेटिभ र चार जनाको मात्र पोजेटिभ आएको छ । केही दिनयतादेखि डोटी जिल्लामा भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न स्थानीय तहलाई निकै चुनौती देखिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट नागरिक आएको छन्, हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।”

भारतबाट आएका नागरिकलाई जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिकाको रानागाउँ, फलेडी, सलेना, जोरायल गाउँपालिकाको रामपुर मावि बुडर, बडिकेदारको बिपीनगर, आदर्श गाउँपालिकाको मौवा नगरदह, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवरा चौतारालगायत स्थानमा निर्माण गरिएका क्वारेनटाइनमा राखिएको छ ।

कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर दैनिक जिल्लामा भित्र्याउन थालिएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताउनुभयो ।

उहाँका अनुसार उद्धार गरिएकाहरुमा स–साना बालबालिकाका, महिला तथा वृद्धहरु पनि रहेको छन् । भारतबाट आएका नागरिकलाई बिनाजाँच क्वारेनटाइनमा राखिन थालेपछि जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनश्याम पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नुपर्छ, तर बिनाजाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।” जिल्लाका स्थानीय तहले निर्माण गरेका क्वारेनटाइन डब्लुएचओको मान्यताअनुसार नभएका तथा क्वारेनटाइनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्री (शौचालय, शुद्ध खानेपनी, ज्ञास, सुत्नेलगायत ) समेत नभएकाले समस्या हुने स्थिति देखिएको दिपायल राजपुर–४ का टेक शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय क्वारेनटाइन नाम मात्रका छन्, खानदेखि सुत्नसमेत समस्या छ, क्वारेन्टिनमा बसेकालाई समस्या भएको छ ।” जिल्ला अस्पताल डोटीमा कोभिड–१९ को जाँच गर्ने आरडिटी किट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याएका नागरिकलाई बिनाजाँच क्वारेनटाइनमा राखिएको छ ।

भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर क्वारेनटाइनमा राखिएका भने निकै खुशी भएका छन् । भारतमा नरकीय जीवन जिउनुभन्दा आफ्नै घरमा जस्तो अवस्था र दुःख भए पनि सहन गर्न सकिने भारतबाट काम गरी घर फर्किएका जोरायल गाउँपालिकाको क्वारेनटाइनमा बसेका राजकुमार भुलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अर्काको देशमा निकै दुःख पाए, यहाँ जस्तो दुःख भए पनि सहन गरेर बस्ने छौँ, हामी सुरक्षित छौँ ।” कोरोना तथा लिपुलेकको नक्साको विवादका कारण भारतमा नेपालीलाई दुःख दिइने र गाली गर्ने गरिएको उहाँले गुनासो गर्नुभयो । यहाँका क्वारेन्टिन सरकारी मापदण्डअनुसार नबनेकाले समस्या हुँदै आएको स्थानीयवासीको आरोप छ । जिल्लामा निर्माण गरिएका क्वारेनटाइनको केही दिनभित्र अनुगमन तथा निरीक्षण गरिने प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर