उद्धारमा जुटे कैलालीका स्थानीय तह

उद्धारमा जुटे कैलालीका स्थानीय तह

भजनी : कैलालीका स्थानीय तहले ‘एक वडा, एक क्वारेन्टिन’को योजना अघि सारेका छन् । भारतले बन्दाबन्दीलाई खुकुलो बनाएसँगै नेपालीहरु स्वदेश फर्किनेक्रम बढ्न थालेपछि यहाँका स्थानीय तहले थप क्वारेन्टिन निर्माण गरी सम्बन्धित वडाका नागरिकलाई वडामै व्यवस्थापन गर्न लागेका हुन् । दैनिक सयौँको सङ्ख्यामा नागरिक भित्रिन थालेका छन् । कैलालीको त्रिनगर भन्सारबाट नागरिक भित्रिँदा स्थानीय तहले भन्सारबाटै आफ्ना नागरिकको उद्धार गरी क्वारेन्टिनसम्म ल्याउने काम गर्दै आएका छन् ।

टीकापुर नगरपालिकाले एक वडा एक क्वारेन्टिन निर्माणको कामलाई निरन्तरता दिएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिनुभयो । यसअघि नौ विद्यालयमा क्वारेन्टिन निर्माण गरेको नगरपालिकाले हरेक वडामा थप क्वारेन्टिन स्थापना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । “हामीले यसअघि एक हजार नागरिक राख्नसक्ने क्वारेन्टिन तयारी गरेका थियौँ”, उहाँले भन्नुभयो, “बाहिरी जिल्ला तथा भारतबाट आउने नागरिक बढ्ने देखिएकाले थप व्यवस्थापनमा लागेका छौँ । यस्तै अवस्था रहे पाँच हजार नागरिक भित्रिने सम्भावना देखिएको छ । हामीले विद्यालयसँगै सार्वजनिक भवनलाई समेत तयारी अवस्थामा राखेका छौँ ।” नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनका साथै केही भवनलाई आइसोलेसन वार्डका लागि समेत तयारी अवस्थामा राखेको छ ।

त्यस्तै तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जानकी गाउँपालिकाले क्वारेन्टिन निर्माणको काम थालेको छ । स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बाहिरबाट आउनेको चाप बढ्न थालेपछि वडामा एक क्वारेन्टिन अनिवार्य हुने गरी व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो । “दैनिक सयौँ नागरिक भित्रिरहेका छन् । व्यवस्थापनका चुनौतीका साथै दिन बिराएर आएकालाई एउटै ठाउँमा राख्न नमिल्ने हँुदा क्वारेन्टिन थप गर्नुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “एक वडामा एक क्वारेन्टिन अनिवार्य छ । आवश्यकताअनुसार थप गर्ने कुरा त छँदै छ ।”

भारतीय सीमासँगै जोडिएको भजनी नगरपालिकाले पनि कोरोना जोखिम हुन नदिन नगरका सबै वडामा क्वारेन्टिन बनाउन थालेको छ । वडा नं १ देखि ९ वटै वडामा क्वारेन्टिन थप गर्ने काम भइरहेको नगरप्रमुख शेरबहादुर चौधरीले जानकारी दिनुभयो । सो नगरपालिकामा हाल पाँच क्वारेन्टिन छन् । जोखिम हुन नदिन सुरक्षा सतर्कता अपनाइएको छ ।

जोशीपुर गाउँपालिकाले पनि कोरोना सङ्क्रमणको जोखिममा हुन नदिन गाउँपालिका प्रवेश गर्ने नाकामा थप कडाइ गरेको छ । कोरोना फोकल पर्सन नरेन्द्र कठरियाले बाहिरबाट आउने नागरिकको चाप बढ्दा क्वारेन्टिन थप गर्ने कार्यमा गाउँपालिका लागिपरेको जानकारी दिनुभयो ।

सम्बन्धित खवर