बन्दाबन्दीको समयमा पनि संसारकोटमा आन्तरिक पर्यटकको भीड

बन्दाबन्दीको समयमा पनि संसारकोटमा आन्तरिक पर्यटकको भीड

गलकोट : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पनि बागलुङका महत्वपूर्ण पर्यटकीयस्थल संसारकोटमा आन्तरिक पर्यटकको भीड लाग्न थालेका छन् ।

पर्यटकको भीडसँगै यसले कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि बढाएको छ । बन्दाबन्दीका कारण देशभरका पर्यटकीय गन्तव्यहरु प्रायः सुनसान देखिए पनि अहिले बागलुङ नगरपालिकाको उच्च भागमा रहेको संसारकोटमा आन्तरिक पर्यटकहरुको भीडभाड हुन थालेको स्थानीयवासी बताउँछन् । प्राकृतिक, धार्मिक तथा पौराणिक हिसाबले महत्वपूर्ण मानिएको संसारकोट बागलुङ नगरपालिका—७ मा पर्दछ ।

बन्दाबन्दीका कारण फुर्सदमा भएका बजारवासी र गाउँघरकै युवासमेत प्रहरी र जनप्रतिनिधिको आँखा छल्दै घण्टौँ पैदल हिँडेर उक्त स्थानमा पुग्ने र रमाइलो गर्ने गरेका छन् । सदरमुकामबाट तीन घण्टासम्मको पैदल यात्रामा संसारकोट पुग्न सकिन्छ । घुम्नेमात्र होइन, त्यहाँ पुग्नेले झोलामै मदिरा, सिटन बोकेर लैजाने तथा जुवाताससमेत खेल्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

सामुद्रिक सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको संसारकोट बागलुङका दुई र म्याग्दीको एक गरी धौलागिरीका तीनवटा स्थानीय तहको संगमस्थल हो । यहाँ रहेको प्राकृतिक सुन्दरता, देशका कैयौँ ठाउँहरु देख्न सकिने उचाइका कारण आन्तरिक तथा बाह्य पर्यटकको उपयुक्त गन्तव्य भएो स्थानीयवासी बताउँछन् । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको संसारकोटको विकासमा तिनै स्थानीय तहले लगानी गर्न सके यहाँ उल्लेखनीय रुपमा पर्यटक भित्रियाउन सकिन्छ । बागलुङ नगरपालिकाकै अग्लो स्थानमा रहेको संसारकोट पञ्चकोट मध्यको एक कोट हो ।

गण्डकी प्रदेशमै ख्याति कमाउन सफल धार्मिक गन्तव्य पञ्चकोटभन्दा माथि पर्छ संसारकोट । गत वर्ष धौलागिरि पर्यटन विकास समिति, बागलुङ पर्यटन विकास समिति, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको आयोजनामा पञ्चकोटदेखि संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरिदेखि बेलढुङ्गासम्म पर्यटकीय पदमार्ग पहिचानका लागि एकदिने पदयात्रा गरेपछि संसरकोटको चर्चा परिचर्चा बढेको छ । संसारकोट हेर्ने भन्दै अहिले दैनिक दर्जनौँ सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।

स्थानीय जनप्रतिनिधि र अगुवाले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यसरी नआउन गरेको आग्रहलाई समेत अटेर गरेर संसारकोटमा आउनेहरुको भीड लाग्न थालेपछि बागलुङ नगरपालिका—७ नं। वडा कार्यालयले बन्दाबन्दी लागू गराउनका लागि प्रहरी कार्यालयलाई गुहारेको छ ।

जारी बन्दाबन्दीको उल्लङ्घन गर्दै संसारकोट जाने क्रम नरोकिएपछि प्रहरी कार्यालयलाई सहयोगका लागि आग्रह गरिएको बागलुङ नगरपालिका–७ का वडाध्यक्ष खगराज पाण्डेले जानकारी दिनुभयो । “बन्दाबन्दीको समयमा संसारकोटमा अवैध गतिविधि भएको पाइएको छ”, उहाँले भन्नुभयो, “हामीले यस क्षेत्रमा नजान, अवैध गतिविधि नगर्न गरेको पटक पटकको आग्रहलाई अटेर गरेर धेरैजनाको जमघट भइरहेकाले मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा समेत नियमित गस्तीका लागि निवेदन दर्ता गरेका छौँ ।” संसारकोटमा बन्दाबन्दीको समयमा भीडभाड गर्ने, जुवा तास खेल्ने, मदिरा सेवन गर्नेजस्ता क्रियाकलाप भइरहेका छन् ।

शुरुमा स्थानीय टोल विकास समितिलाई संसारकोट जान निषेध गर्ने जिम्मा दिए पनि त्यहाँ जानेले अटेरी गरेका कारण जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोग मागिएको अध्यक्ष पाण्डेको भनाइ छ । उहाँले पर्यटन प्रवद्र्धन हुनु राम्रो भए पनि यो समय र अवसर उपयुक्त नभएको स्थानीयवासी बताउँछन् । बन्दाबन्दीको समयमा बागलुङ बजारका मानिस भीडभाड हुने गरी पदयात्रामार्फत संसारकोट पुग्ने गरेका छन् । बन्दाबन्दीको समयमा संसारकोट गएको गुनासो बढी आएकाले अब निगरानी बढाइने प्रहरीले जनाएको छ । संसारकोटमा बन्दाबन्दीको कार्यान्वयन नभएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो । “हामीलाई निवे्दन प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यही बुधबारदेखि त्यस क्षेत्रमा छड्के जाँच तथा मोबाइल गस्ती थालेका छौँ ।”

जैविक विविधतायुक्तस्थलको रूपमा रहेको संसारकोटबाट धौलागिरी, माछापुच्छ्रेलगायत हिमश्रृङ्खलाका साथै बागलुङ, पर्वत, म्याग्दी, कास्की, स्याङजा गुल्मी जिल्लाका सबै उच्च पहाडी क्षेत्रहरूको अवलोकन गर्न सकिन्छ ।

सम्बन्धित खवर