पुल नहुदाँ सदरमुकाम जान जोखिम

पुल नहुदाँ सदरमुकाम जान जोखिम

लहान : तराई–मधेशको लाइफलाइनकै रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिरहाको औरही गाउँपालिकास्थित गागनखोलामा पुल नहुदाँ स्थानीयहरु एक दशकदेखि जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।

काम विशेषले सदरमुकाम सिरहा बजार आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर सो खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अर्कोतिर खोला गहिरो भएकाले बाढीका बेला सवारी साधन नै भाँसिने जोखिममा पर्ने गरेको जनाइएको छ ।

“आफ्नो गाउँदेखि १५ किलोमिटर उत्तरको पूर्वपश्चिम राजमार्ग छिचोल्न ठूलो समस्या छ”, औरही गाउँपालिका–१ शिवनाथ यादवले भन्नुभयो, ‘‘पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर सदरमुकाम पुग्छन् भने कतिपयले घुमाउँरो बाटोको प्रयोग गरी दिनभरि समय खर्चिएर सदरमुकाम पुग्ने गर्छन् ।”

सो भेगका स्थानीयवासी सदरमुकाम सिरहासम्म पुग्न हुलाकी राजमार्गदेखि उत्तर पूर्वपश्चिम राजमार्ग र पुनः पूर्वपश्चिम राजमार्गको चोहर्वा खण्डबाट १८ किलोमिटर दक्षिणको घुमाउरो बाटो प्रयोग गर्दा दिनभरिको समय खर्चिनुपर्ने बाध्यता रहेको सुनाउँछन् ।

करिब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरेको थियो तर पुल निर्माण सम्पन्न भएको १० वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर खोलाले साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाएर बग्न थालेपछि सो क्षेत्रका स्थानीयवासीको आवागमन कष्टकर बनेको छ ।

“पहिलेको खोलामा पानी बग्न छोडेको छ त्यहाँको सुक्खा नदीमा पुल छ तर धार परिवर्तन गरी बगिरहेको खोलामा बाह्रै महिना पानी बग्ने गरेको छ”, सिरहाको बरियारपट्टी गाउँपालिका–३ का महेश यादवले भन्नुभयो, “सुक्खायाम त केही सहज हुन्छ, तर बाढीको समयमा दुई महिनासम्म त झन त्यहाँका स्थानीयवासीलाई आवतजावत गर्न गा¥हो हुन्छ ।”

हुलाकी राजमार्गको औरही खण्डमा गागनखोलाले बनाएको ती दुईवटै खोला सामरिक हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयवासीको अनुभव छ । औरहीदेखि करिब सात किलोमिटर पश्चिम सिरहा सदरमुकाम छ भने औरहीदेखि मात्र दुई किलोमिटरको दूरीमा पूर्व भारतीय बजार लदनियासँग जोडिएको बरियारपट्टी बजार रहेको छ ।

सो खोलामाथि पुल बनेको वा भत्किएको बाँध पुनःनिमाण गरी धारलाई साबिककै ठाउँमा फर्काउन सकिए हुलाकी राजमार्गको पूर्व भगवान्पुर र ठाडी बजारदेखि पश्चिम जिल्ला सदरमुकामसम्मको ४२ किलोमिटर मात्र हुने छ । त्यो दूरी एक घण्टाको समयमा ओहोरदोहोर गर्न सकिने स्थानीयवासी बताउँछन् ।

गागनको बाँध भत्किएर अर्को बाटो लिएदेखि नै औरही र बरियारपट्टिलगायतका स्थानीयवासीले समस्याबारे जनप्रतिनिधिदेखि ठूला नेतालाई गुहार्दै आए पनि सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । औरही गाउँपालिका–५ का दीपक कामतीले भन्नुभयो, “कतिपटक हामीले कि त भत्किएको बाँध पुनःनिर्माण गर कि अर्को बाटो भएर बगेको खोलामाथि पुल निर्माण गर भन्याँै, तर कसैले हाम्रो कुरा सुनेनन् ।”

एकातिर खोलामा एउटा पुल बनाएर समस्या समाधान गर्न सकिन्छ, भने अर्कोतिर भत्किएको खोलाको बाँध पुनःनिर्माण गरेर खोलाको धारलाई पुनः साविककै धारमा फर्काउन सकिने सम्भावना पनि छ उहाँको कथन छ ।

औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले हुलाकी राजमार्ग भएर बग्ने सबै खोलामाथि पुल र कल्भर्ट निर्माण गर्न एकैपटक लागेको ठेक्कामा पुल पनि परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सबैतिरको खोलानालाको पुल र कल्भर्ट बनिसक्यो तर यो खोलाको काम भने शुरु भएको छैन, हुलाकी राजमार्गमा कालोपत्र र पुल तथा कल्भर्ट निर्माण गर्ने जिम्मेवारी हुलाकी सडक डिभिजनले लिएकोले यसबारे जानकारी लिइ पुल निर्माणका लागि पहल गर्छौँ ।”

सम्बन्धित खवर