‘जाजरकोट घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन’

‘जाजरकोट घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन’

काठमाडौँ : सरकारले जाजरकोट घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानविनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको जानकारी दिनुभयो ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ । यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका¬–८ बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा झगडा भएको थियो ।

मन्त्री थापाका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । जाजरकोट भेरी नगरपालिका–४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षकै पाँचजनालाई अस्थायी प्रहरी पोष्ट रावतगाउँ र सातजनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिनुभयो ।

हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ । मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीचभागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ ।

हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ । मन्त्री थापाका अनुसार भेरी नपा–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ । बेपत्ताको खोजीका लागि आवश्यकतानुसार गोताखोरसमेत परिचालन गरिने उहाँको भनाइ छ । नवराज विकसहितको समूहमा गएको रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का गोपाल बुढाथोकीबीच बाटोबाटै फर्केको, घाइते सुदिप खड्काको मिसन अस्पताल चौरजहारीमा उपचार गरी ‘डिस्चार्ज’ भइसकेको गृहमन्त्रीले जानकारी दिनुभयो । केटा पक्षको सम्पर्कमा आएका सबै १२ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको मन्त्री थापाले बताउनुभयो ।

उहाँका अनुसार युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लासहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न, शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाइराख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमबाट समन्वयात्मक ढङ्गले काम भइरहेको गृहमन्त्रीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर