कोदो जोहो गर्दै अन्नपूर्ण गाउँपालिकाका किसान

कोदो जोहो गर्दै अन्नपूर्ण गाउँपालिकाका किसान

चिप्लेढुङ्गा : बन्दाबन्दी जारी रहँदा कास्कीको अन्नपूर्ण गाउँपालिकाले किसानसँग ५०० मुरी कोदो किनेर जोहो गरेको छ ।

गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिन ११ वडाबाट ती कोदो सङ्कलन गरेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीको तत्कालको समस्याभन्दा पनि दीर्घकालीन खाद्य सङ्कटलाई ध्यान दिएर लामो समयसम्म नबिग्रने कोदो किसानबाट खरिद गरेका हाँै ।” उहाँले किसानबाट प्रतिमुरी रु चार हजारका दरले करिब रु २० लाखको कोदो गाउँपालिकाले खरिद गरेको जानकारी दिनुभयो ।

गाउँपालिकालाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादनलाई नै प्रवद्र्धन गर्ने सोच गाउँपालिकाको रहेको उहाँले बताउनुभयो । उहाँले आधुनिक कृषि प्रणाली अवलम्बन गरेर उत्पादनमा जोड दिने नीतिअनुरुप नै गाउँपालिका अगाडि बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वास्थ्यवद्र्धक मानिने कोदोमा रोग प्रतिरोधात्मक क्षमता हुने विभिन्न अध्ययन अनुसन्धानमा देखाएको छ । यसलाई गाउँको समृद्धिसँग जोडेर ‘ब्राण्डिङ’ गर्ने अभ्यास हामी लागेका छौँ ।”

उहाँका अनुसार कोदोको प्रवद्र्धनका लागि भदौरे देउरालीमा ल्होसार पर्वको अवसर पारेर गरिने कोदो महोत्सवमा विभिन्न कोदोका परिकारसमेत प्रदर्शन हुँदै आएको छ । त्यसैगरी गाउँपालिकाले सबैभन्दा बढी कोदो उत्पादन गर्ने ११ वडाका तीन–तीन गरी ३३ कृषकलाई पुरस्कृत पनि गर्दै आएको छ ।

गत वर्ष सर्वाधिक ३७ मुरी कोदो उत्पादन गरेर उत्कृष्ट कृषक बन्न सफल रनबहादुर पुनले गाउँपालिको नीतिले कृषकलाई उत्पादनमा जोड दिन प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “म खुशी छु, पुरस्कृत भएँ, पाँच हजार पाएँ, गाउँपालिकाले अहिले पाँच मुरी कोदो पनि खरिद ग¥यो, यस्तो कामले किसानलाई ऊर्जा मिल्छ ।” उहाँले गाउँपालिकोको कृषि रणनीति किसानमैत्री भएको बताउनुभयो ।

अध्यक्ष कुवँरले आगामी नीति तथा कार्यक्रममा पनि ठूला–ठूला पूर्वाधार विकासका महत्वाकांक्षी योजना नराखी स्थानीय तहमा रोजगार सिर्जना गर्न सक्ने उत्पादन र निर्यातलाई बढी जोड दिने जानकारी दिनुभयो । “अहिले ठूला–ठूला योजनाको बारेमा हामी जाँदैनौ, किसान प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नेछौँ”, उहाँले यो वर्ष करिब ३० हजार कागतीको बेर्ना उत्पादन गरेर वितरण गरेको जानकारी दिनुभयो, “एउटा कागतीको बेर्ना हुर्काउन सके लैनो भैँसी बराबरको फाइदा हुने रहेछ, कागतीको उत्पादलाई पनि विशेष जोड दिएका छौँ ।” उहाँले विभिन्न फलफलूहरु एभोगाडो, सुन्तला, अम्बा, अलैँचीका बिरुवा वितरण गरिएको पनि जानकारी दिनुभयो । हाइवेमा नै कृषिको बिक्री केन्द्र राखेर कृषि उत्पादनको बजारीकरण कार्य अन्तिम चरणमा पुगेको बन्दाबन्दीको कारणले सञ्चालन हुन नसकेको उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत युवराज अधिकारीले पर्यटकीयसँगै कृषिलाई पनि विशेष प्राथमिकतामा राखेर उत्पादन बढाउने काम गरेको बताउनुभयो । उहाँका अनुसार कृषि प्रणालीको विकास गरी उत्पादन बढाउन समूहमार्फत आउने ६० कृषकलाई हातेट्रयाक्टर वितरण गरेका छ । त्यसैगरी गाउँपालिका परिसरमै नर्सरी तयार गरी कागती, अलैँचीलगायतका बिरुवा उत्पादन गरेर कृषकलाई निःशुल्क वितरण गरिएको छ । उहाँले गाउँपालिकाको हालको बजेट रु ५८ करोड १० लाख छ । विनियोजित रकममध्ये रु एक करोड १५ लाख कृषिलाई छुट्याएको जानकारी दिनुभयो ।

सम्बन्धित खवर