संजय आचार्य, पोखरा
सरकारले देशव्यापी आह्वान गरेको हालको बन्दाबन्दीका अवस्थामा समेत पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यले निरन्तरता पाएको छ ।
हाल १ सय नेपाली र २ सय ५० चिनियाँ गरी ३ सय ५० कामदार दैनिक काममा खटिएका छन् । यसअघि विमानस्थल निर्माणमा २ सय ६२ नेपाली खटिएकामा १ सय ६२ जना मजदुर लकडाउनको केहि दिनअघि घर फर्किएका थिए । कोभिड १९ को त्रास भएपनि विमानस्थल निर्माणको काम भने रोकिएको छैन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र चीनको चाइना सिएएमसी इन्जिनीयरिङ कम्पनीबीच सन् २०१४ मा पोखरा विमानस्थल निर्माणको सम्झौता भएको थियो । २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७४ असार मसान्तदेखि विमानस्थलको काम शुरु भएको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन आइकाओको मापदण्डअनुसार ‘फोरडी’ मोडलमा निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर गरी ५८ प्रतिशत काम सम्पन्न भइसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । उनका अनुसार मुख्यगरी अहिलेसम्म दुई हजार ५ सय मिटर लामो र ४५ मिटर चौडाइको धावनमार्ग (रनवे) तयार भएको छ । उनले भने, रनवेसँगै ह्याङ्गर, पार्किङ, ट्याक्सी वे को काम सकिएको छ, । बाकी विमानस्थलमा निर्माण गरिने विभिन्न १४ वटा भवनमध्ये हालसम्म अधिकांश भवनको ‘सिभिल वर्क’ को काम सम्पन्न भएको छ । उनले थपे, विमानस्थमा आवश्यक पर्ने सामग्री भारतको कोलकातबाट आउने गर्छ तर अहिले लक डाउनका कारण एयरपोर्टलाई आवश्यक पर्ने समान भित्र्याउन सकेका छौनौ, सामान्य गिटी बालुवा मात्र ढुवानी गरेका छौँ ।
विमानस्थलमा आइसोलेडेट पार्किङको ‘सववेश’ तथा भित्री पहुँचमार्ग निर्माण, सिँचाइका नाला निर्माण तथा सबै भवनको छाना छाउने काम र ‘हाइ मस्ट फ्लड लाइट’ र ट्रान्सफर्मर बक्स जडान सकिएको छ । विमानस्थलबाट बाहिर निस्कने प्रमुख सडक, कार पार्किङ र टर्मिनल भवनको वरिपरिको सडक पक्की गर्ने काम सकिएको उनले बताए । त्यसैगरी मुख्य टर्मिनल भवनमा स्टिल संरचनाको काम भइरहेको तथा अन्य भवनमा डेकोरेशन, फिनिसिङ र विद्युतीकरणको काम भइरहेको छ । लकडाउनका अवधिमा एक दिन पनि काम रोकिने अवस्था नआएको आयोजना प्रमुख मुनकर्मीले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा रहेको जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो ।
झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा बन्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।