हिमलाल पराजुली, स्याङ्जा
लकडाउनको समयमा अवैध रुपमा बालुवा उत्खनन् गर्नुका साथै ओसारपसार गरेको भन्दै प्रहरीले चारवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुतलीबजार नगरपालिका १० लामापाटास्थित आँधीखोलामा शनिबार दिउसो बालुवा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आँधीखोलामा बालुवा लोड गरिरहेको भन्ने सूचना पाएपछि पुगेको प्रहरीको टोलीले ट्याक्टरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक बिमलराज कँडेलले जानकारी दिनुभयो ।
बालुवा लोड गरिरहेको अवस्थामा ग १ त ५९०३, ग १ त ४७६६, ग त ५७४० र ग १ त ४२०९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।