ठूला नेतादेखि धनाढ्यसम्म उपचारका लागि ग्राण्डीमै भेटिएका संक्रमितलाई भने उपचारका लागि पाटन अस्पतालमा पठाइएको हाे। आज बिहान काेराेना पुष्टि भएका ग्रान्डी अस्पतालका कर्मचारीलाई पाटन अस्पतालको आइसोलसनमा लगेर उपचार थालिएको हाे।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएको परीक्षणमा ग्राण्डीकाे ल्याबमा काम गर्ने कर्मचारीलाई काेराेना देखिएको थियाे। उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङसमेत अघि बढिसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
अस्पताल प्रशासनले उनी कार्यरत विभागलाई सिल गरिएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना भएको उल्लेख गरेको थियो ।
स्रोतका अनुसार संक्रमित ग्रान्डी अस्पतालको ल्याबमा काम गर्ने कर्मचारी भएको बुझिएको छ। काठमाडौंका ग्राण्डी, मेडिसिटी, नर्भिक, ह्याम्स जस्ता अस्पताल सुविधासम्पन्न मानिन्छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे मिर्गौलाकाे गत कात्तिकमा डायलाइसिस गरेकाे ग्राण्डीले यसअघि काेराेनाका बिरामीको उपचारका लागि आइसाेलेसन कक्ष बनाएको थियाे।
आइसाेलेसन कक्ष
कोभिड–१९ का सम्भावित बिरामीको उपचार गर्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले गत चैत दाेस्राे साता ३० शय्याको निगरानी कक्ष (क्वारेन्टाइन) स्थापना गरेकोे जनाएको थियोे।
अस्पतालका अध्यक्ष दीपक कुँवरले अस्पतालमा रहेको विशेष सघन उपचार कक्षलाई क्वारेन्टाइन र कोभिड–१९ को उपचारका लागि प्रयोगमा ल्याउन लागिएको जानकारी दिएका थिए।
अस्पतालले विगतका दिनमा अफ्ठ्यारो परेको समयमा समेत बिरामीलाई उपचार गरेको बताउँदै कुवँरले आगामी दिनमा पनि सरकारसँगको सहकार्यमा अस्पतालले काम गर्ने बताएका थिए।
अस्पतालले त्यही बेला काेराेना भाइरसको उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीलाई गाँस, बासका साथै विशेष आइसोलेसन कोठा व्यवस्था गरेको जनाएको थियाे। तर आफ्नै संक्रमित कर्मचारी उपचारमा ग्राण्डीले जाेखिम लिन तयार भएन। टोखामा ६ वर्षपहिले स्थापना भएको ग्राण्डी अस्पतालमा हेलिप्याडसमेत छ।