काठमाडौं : नेपालमा ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । परीक्षणका क्रममा मकवानपुर, भक्तपुर, सप्तरी र बारामा गरी ९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणका क्रममा शुक्रबार नयाँ ९ जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।
सङ्क्रमित देखिएका व्यक्ति मकवानपुर हेटौडा ३ निवासी ५४ वर्षीय महिला, भक्तपुर निवासी ४२ वर्षिय महिला, सप्तरी (बलान विहुल गाउँपालिका निवासी वर्षीय ३५ को पुरुष र बारा सिमरनगढ नगरपालिका २२, २७, ३०, ३४, ३८, ४५ वर्षीय पुरुषहरु रहेका छन् ।
मन्त्रालयका सहप्रवक्त्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमितको ९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।
यो सँगै संक्रमितको संख्या ५१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।