लहान, सिरहाको नरहा गाउँपालिका १ देविपुरमा राहतको विषयमा नेकपा र नेपाली कांग्रेस बिच झडप भएको छ । शुक्रबार भएको झडपमा २० जना भन्दा बढि घाइते भएका छन् ।
राहतको विषयलाई लिएर विवाद सुरु भएपछि उपाध्यक्ष गुलाब देवी चौधरीका छोरा अरविन्द चौधरीले गोली चलाएका छन् । गोली लागेर स्थानीय ५५ वर्षका अख्तर मण्डल घाइते भएका छन् । दाहिने कन्चटमा गोली लागेका अख्तरको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते मण्डललाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो । सिरहामा उपचार हुन नसकेपछि उनलाई विराटनगर स्थीत नोवेल हस्पिटलमा रिफर गरिएको जिल्ला अस्पताल लहानले जनाएको छ ।
मण्डलसंगै घाइते भएका अन्य २ जनालाई पनि बिराटनगर नै रिफर गरिएको छ । झडपमा परी कम्तीमा २० जना घाइते भएको स्थानीयले बताए । झडपमा महिला पुरुष नै रहेका थिए ।
नेपाली कांग्रेस तर्फका १२ जना र नेकपाका ८ जना जति घाइते भएको जनाइएको छ । घाइतेहरुको सिरहा अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए । राहत वितरणमा काखापाखा भएको भन्दै विवादले उग्र रुपलिए पछि दुई पक्षबीच झडप भएको हो ।
सोही क्रममा उपध्यक्षका छोरा अरविन्दले गोली चलाइएको प्रत्यक्षदर्शीले बताइएका छ्न् । उपाध्यक्ष चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका हुन् ।
यता, प्रहरीले भने दुई पक्ष बिच झडपमा केहि व्यक्ति घाइते भएपनि गोली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले भन्नुभयो ‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन, घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।’