सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गरिन्न : सरकार

सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गरिन्न : सरकार

काठमाडौं : सरकारले तत्काल भारतसँगको सीमा विवादलाई अन्तर्राष्ट्रियकरण नगर्ने स्पष्ट पारेको छ । लिम्पियाधुरासहितको नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको २ दिनपछि सरकारले वार्ता र कुटनीतिक माध्यमबाटै समस्याको समाधान खोजेको बताएको हो ।

नेपालको नयाँ नक्सालाई भारतले मान्यता नदिने बताईसकेको छ भने वार्ताका लागि ठोस जवाफ नेपाल सरकारलाई दिएको छैन । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले नेपालसँग भएका प्रमाणका आधारमा भारतले नेपालको जमिन फिर्ता दिने विश्वास व्यक्त गर्नुभयो ।

वास्तविक अन्तर्राष्ट्रिय सीमा सहितको नक्सा हालसालै मात्र सार्वजनिक गरेको र नक्सा जारी भएपछिको समस्या समाधान वार्ताकै माध्यमबाट खोजिने मन्त्री खतिवडाको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामीलाई आशा छ । सरकारलाई आशा छ । हामीले वार्ताकै माध्यमबाट, हामीसँग भएका प्रमाणहरुका आधारबाट हामीले मित्रराष्ट्रसँग संवाद गरेरै हाम्रा ती भूमिलाई स्वत: उहाँहरुले स्वीकार गर्ने स्थितिमा पुर्‍याउन हाम्रो प्रयास रहन्छ । तर अहिले वार्ता कै माध्यमबाट समस्याको समाधान खोज्नेछौं ।’

सम्बन्धित खवर