कोरोना कहर : बन्द गरियो लेकसाइडका पानी पँधेरो

कोरोना कहर : बन्द गरियो लेकसाइडका पानी  पँधेरो

पाेखरा : लेकसाइडस्थित सार्वजनिक धाराहरु बन्द गरिएका छन् । रानीवनबाट मूल संरक्षण गरी लेकसाइडमा वितरण हुँदै आएका कम्तीमा ८ ठाउँका पँधेरा बन्द गरिएको स्थानीय कमलबहादुर भुजेलले जानकारी दिए ।

फिस्टेलघाट, गौरीघाट, अम्बोट, बाराहीघाट लगायत ठाउँमा मूलको पानी ट्यांकीमार्फत व्यवस्थित रुपमा वितरण हुँदै आएका थिए ।

स्थानीयकै आग्रहमा पानी वितरण बन्द गरिएको भुजेलले सुनाए । ‘प्रशासन र प्रहरीले पनि सार्वजनिक धारामा सतर्कता अपनाउन समस्या देखिइरहेकाले बन्द गर्न वा अन्य विकल्प रोज्न भनिरहेको थियो,’ उनले भने, ‘संस्थानले वितरण गर्ने धारामा नियमित पानी आइरहेकाले सार्वजनिक धारा बन्द गरेका हौं ।’

स्थानीय अनील थापाका अनुसार रातको १२ बजेसम्म पनि अन्यत्रबाट पानी लिन आउने र भिड जम्मा भइरहेकाले बन्द भएको बताए । सामाजिक दुरी कायम गराउन नसकिएकाले पनि केही दिन बन्द गर्नुको विकल्प नदेखेको थापाले सुनाए ।

जारी लकडाउनमा पानी लिन जाने बहानामा भिडभाड बढाउने प्रवृत्तिले गर्दा पनि धारा बन्द भएको हुनसक्ने वडाध्यक्ष जगत पहारीले बताए । ‘लकडाउन सुरु हुँदै गर्दा धारा बन्द गर्नुपर्छ कि भन्नेबारे सामान्य छलफल भएको थियो,’ उनले भने, ‘संस्थानको धारामा पानी आइरहेकाले बन्द गरिएका हुन सक्छन् ।’

धारा बन्द गर्नुपर्छ भन्ने सुझाव धेरैतिरबाट आइरहेको पनि उनले सुनाए । लेकसाइडका ती पँधेरामा फेवाताल पारि रानीवनका मूलबाट पानी ल्याइएको छ ।

सम्बन्धित खवर