रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालले जिउँदै मानिसलाई मरेको भनेर गलत सूचना दिएको छ । गुल्मीको मदानेका ४१ वर्षीय शिक्षकको मृत्यु भएको भनेर अस्पतालले बुधबार गलत सूचना प्रवाह गरेको हो ।
ज्वरो आएर जेठ १ गते अस्पताल भर्ना भएका उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालका चिकित्सकहरुले भेन्टिलेटरमा एकपटक पनि हेरबिचार नगरी उल्टै मृत्यु भइसकेको सूचना परिवारलाई नै दिइसकेको थियो ।
उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेको थियो ।
अस्पतालबाट प्राप्त सोही सूचनाका आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई बुधबार बिहानै दिएका थिए । मन्त्रि बरालले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अस्पताललाई भनेका थिए ।
बिरामी भेन्टिलेटरमा अझै जिवित नै रहेको पाइएपछि मन्त्रि बरालले नै तत्काल विज्ञप्ति निकाल्न अस्पताललाई भनेका थिए । सोही अनुसार क्रिमसन अस्पतालले बिरामीको मृत्यु नभएको विज्ञप्ति सार्वजनिक गरेको छ ।
सामाजिक विकास मन्त्रालयका एक अधिकारीले भने, ‘पोजेटिभ रिपोर्ट आएपछि सोमबारदेखि भेन्टिलेटरमा चिकित्सकले हेरेकै रहेनछन् । हेर्दै नहेरी मृत्यु भयो भनेर परिवारलाई समेत खबर गरेछन् । आज हेर्न जाँदा पो बिरामी जीवितै रहेको पाइएछ ।’
कोरोना संक्रमण पुष्टि भएपछि उपचार र हेरचाह नपाएका ती बिरामीको स्थिति गम्भीर रहेको अस्पताल प्रशासनले स्वीकार गरेको छ ।
(यसअघि क्रिमसन अस्पतालमा रहेका बिरामीको मृत्यु शीर्षकमा छापिएको समाचार अस्पतालकै गलत सूचना प्रवाहका कारण तथ्यहिन भएको जानकारी गराउदछौँ । गलत समाचार सम्प्रेषण भएकामा सम्पूर्ण पाठक वर्गमा प्रदेश दैनिक क्षमाप्राथी छ ।)