जथाभावी पसल खोले ५ हजार जरिवाना

जथाभावी पसल खोले ५ हजार जरिवाना

विवेक शर्मा, रौतहट

रौतहटमा जथाभावी पसल खोल्नेलाई ५ हजार जरिवाना गरिने भएको छ । रौतहटमा युवाहरुले आफै लकडाउनको पालना गराउन सक्रिय भएपछि यस्तो निर्णय गरेका हुन् ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा न. ९ चेतनगरमा युवाहरुको टोलिले २१ सदस्य समिति गठन गरी कोरोना भाईरस नियन्त्रणको प्रयास गरेका छन् । श्याम श्रेष्ठको संयोजकत्वमा मंगलवार २१ सदस्य समिति गठन गरिएको हो।

समितिले सामाजिक दुरी कायम गरी उचित समयमा पसल संचालनमा ल्याउने निर्णय गरेको छ। यदि आफ्नो मनोमानी ढंगले पसल संचालनमा ल्याए ५ हजार जरिवाना सहित कार्वाही गरिने श्रेष्ठले बताउनुभयो।

समितिले अरु ठाउँ वा गाउँबाट आउनेलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। यदि आफ्नै गाउँको ब्यक्ति भए चंद्रपुर नगरपालिकाको नियम अनुसार प्रवेश गराउने निर्णय भएको छ। गाउँमा अव्यवस्थित तरिकाले जाड, रक्शी बेच्ने वा सेवन गरी दुर्व्यवहार गरेको पाईएमा ५ हजार जरिवाना गरिने सचिव बालकृष्ण गौतमले जानकारी दिनुभयो ।

गाउँको मान्छेले बाहिरबाट कामदार ल्याएर काम गराईएको पाईए वा गाउँको मानिस अरु ठाउँमा काम गर्न गएको थाहा पाए १४ दिन क्वारेन्टाइनमा राखिने छलफल भएको स्थानीय सिताराम पौडेलले बताउनुभयो । छलफलमा स्थानीय ४३ जनाले सहभागिता जनाएका थिए।

सम्बन्धित खवर