पथरीमा लकडाउनको मतलब छैन्, प्रशासन बन्यो निरिह

पथरीमा लकडाउनको मतलब छैन्, प्रशासन बन्यो निरिह

भिमराज अधिकारी, पथरी

देशभर लकडाउन कडा बनाउन सरकारको निर्देशन आइरहेका बेला मोरङको पथरीमा भने स्थानीयले लकडाउनको बेवास्ता गरेका छन् । हरेक दिन विहान खुल्ने पसलहरुमा लाग्ने घुइचोका अगाडी प्रशासन भने निरिह बनेको छ ।

सागसब्जी, खाद्यान्न, औषधी लगाएतका अत्यावश्यक पसलहरु मात्रै खुल्ला गर्ने निर्णय नगरले गरेको छ । नगरको निर्णय र प्रशासनको वेवास्ता गर्दै नगरपालिका भवनकै तल्लो तलामा भने कस्मेटिक देखि धगो, जुत्ता लगाएतका पसलहरु निर्वाद रुपमा संचालनमा रहेका छन् । दैनिक विहान १० बजे सम्मका लागि अत्यावश्यक सामग्रीका पसलहरु मात्रै खोल्न अनुमति दिइएको भएता पनि व्यावसायीहरुले अटेर गरेर पसल खोल्दै आएका हुन् । पथरी बजारका फर्निचर, कपडा पसल, भाँडा पसल, मोवाइल, घडी पसल, साइकल पसल, जुत्ता चप्पल पसल लगाएतका व्यावसायहरु खुलेका हुन् ।

लकडाउनको कडा पालना गराउनका लागि खटेको नेपाल प्रहरीले भने बजारको भिड भन्दा पनि मोटरसाइकल मात्रै देख्ने गरेको छ । घुइचो लागेको बजारलाई व्यवस्थापन गर्नुको सट्टा कता मोटर साइकल छ त्यता मात्रै प्रहरीको ध्यान केन्द्रित हुनेगरेको छ । पैदल यात्री र साइकलमा यात्रा गर्नेको घुइचो भने थामिनस्कनु छ पथरी बजारमा ।

नगरले जति नै कडा गरेता पनि अटेरी गरेको नगर उप प्रमुख यमुना विष्टले बताउनुभयो । ‘‘पटक पटक सूचना गर्दा पनि कसैले वास्ता गरेनन् अब कार्यपालिकाको बैठकबाट के निर्णय हुन्छ त्यही कुरेर बसेकी छु’’ विष्टले भन्नुभयो ‘‘अब कोरोनाको झन महामारी आउने अवस्था छ सबैले आफुले सचेत भएर घरमा बस्नुको विकल्पै छैन् ।’’

सम्बन्धित खवर