दुलेगौंडामा बाहिरबाट ल्याएका तरकारी र फलफूल नष्ट

दुलेगौंडामा बाहिरबाट ल्याएका तरकारी र फलफूल नष्ट

तनहुँ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलने जोखिम बढ्दै गएपछि तरकारी र फलफूल पसल सञ्चालनमा रोक लगाएको शुक्लागण्डकी नगरपालिकाले तरकारी र फलफूल जफत गरी नष्ट गरेको छ ।

आइतबारदेखि लागु हुने गरी गरिएको निर्णय पहिलो दिन यहाँका व्यवसायीले कार्यन्वयनमा अटेरी गरेपछि सोमबार बिहान शुक्लागण्डकी नगरपालिकामा सञ्चालित तरकारी तथा फलफूल पसलको अनुगमन गरिएको थियो ।

नगरपालिकाको शुक्रबारको बसेको आकस्मिक बैठकले तरकारी र फलफूल पसल बन्द गर्ने निर्णय गरेको थियो ।
अनुगमनमा निस्किएको टोलीले दुलेगौंडास्थित तारादेवी स्टोर्सले अटेरी गरेको पाइएपछि ठूलो परिमाणमा तरकारी र फलफूल जफत गरेको छ । करिब डेढ गाडी आँप, खरबुजा, केरा, भेंडे खुर्सानी, बोडी, भिन्डी, आलु प्याज, गोलभेडा लगायत तरकारी र फलफूल जफत गरिएको हो ।

जफत गरिएको उक्त तरकारी र फलफूल स्थानीयसँगै अनुगमन टोलीको रोहवरमा नगरपरिसरमा नष्ट गरिएको नगरप्रवक्ता खीमबहादुर कुमालले जानकारी दिए । उनले नगरपालिकाको अर्को सूचना जारी नहुँदासम्म तरकारी तथा फलफूल पसल बन्द गर्न अनुरोध गरेका छन् ।
शुक्लागण्डकीको दुलेगौंडा, खैरेनीटार र कोत्रेबजारमा सञ्चालन गरिएको पसलको अनुगमन गरिएको हो । स्थानीयले समेत पसलमा तरकारी ल्याइएको भन्दै नष्ट गर्न दबाब दिएका थिए ।

नगरपालिकाका मेयर किसान गुरुङ, उपमेयर सविता रसाइली, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडाध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रहरी, पत्रकारसहितको टोलीसँग स्थानीयले बाहिरबाट आएको तरकारी र फलफूलको बिक्री जारी रहेको भन्दै जफत गरेर नष्ट गर्न आग्रह गरेका थिए ।

शुक्रबारको बैठकले नगरक्षेत्रमा सञ्चालित खाद्यान्न सामग्री किनबेच गर्ने पसल पनि आइतबार र बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्ने दिने निर्णय गरेको छ ।

मेडिकल, डेरी, बिजभण्डार र पशुपंक्षीको दाना तथा औषधी बिक्री गर्ने भेटेरीनरी पसल बाहेक अन्य पसल बन्द गरी सहयोग गर्न नगरले अपील गरेको छ । यस्तै, बैंक तथा सहकारी संस्थाहरु हप्तामा २ दिन मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बैंक तथा सहकारी आइतबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र स्थानीय कर्मचारीको उपस्थितिमा सुरक्षा प्रबन्ध मिलाइ सामाजिक दुरी कायम राख्दै सञ्चालन गर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर