विराटनगरमा औषधी व्यवसायीको शंकास्पद मृत्यु, हत्या आशंकामा अनुसन्धान हुदै

विराटनगरमा औषधी व्यवसायीको शंकास्पद मृत्यु, हत्या आशंकामा अनुसन्धान हुदै

बिराटनगर, विराटनगर महानगरपालिका १० मधुमाराका औषधी व्यावसायीको शंकास्पद मृत्यु भएको छ । आइतबार विहान शंकास्पद मृत्यु भएको पाइएपछि श्रीमती सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनार घर भई विराटनगरमा औषधीको डिलर सञ्चालन गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाको औषधीको डिलर संचालन गर्दै आएका थिए । दुलाल सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे कोसी अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार श्रीमती मीना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधी व्यवसायी धनबहादुर काफ्ले मिलेर उपचारका लागि पुर्‍याउना साथ अस्पतालले मृत घोषित गरेको थियो ।

मृतकको शवको अवस्था हेर्दा चिकित्सकले मृत्यु अस्वभाविक रहेको बताएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । डीएसपी राईका अनुसार दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो ।

शरीरका विभिन्न भागमा आक्रमण गरे जस्तो देखिने शंकास्पद चोटहरु रहेका थिए । घाँटीमा डोरीले कसेको डाम रहेको पाइयो उनले भने, मुखबाट रगत बगिरहेको थियो । सुतेको ओछ्यानमा रगत लतपतिको भेटियो ।

डीएसपी राईले घटनास्थल मुचुल्का उठाउँदै गम्भीर ढंगबाट अनुसन्धान अघि बढाइएको बताए । प्रहरीले दुलालकी श्रीमती मीना, विराटनगरकै औषधि व्यवासायी धनबहादुर काफ्ले र हरिमोहन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको जानकारी राईले दिए । प्रहरीका अनुसार औषधि व्यवसायी काफ्ले र श्रेष्ठ राती अबेरसम्म दुलालकै कोठामा मदिरा सेवन गर्दै बसेको खुलेको छ । संगै मदिरा सेवन गरेकाले काफ्ले र श्रेष्ठलाई पनि अनुसन्धानमा राखिएको राईले बताए ।

दुलाल र मीनाका ८ वर्षका छोरा छन्। डीएसपी राईले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि र अनुसन्धान टुँगिएपछि घटनाको वस्ताविकता बाहिर आउने उनको भनाइ छ ।

सम्बन्धित खवर