लकडाउनले तरकारी किसानलाई सकस

लकडाउनले तरकारी किसानलाई सकस

घोराही : दाङको गडवा गाउँपालिका–६ बालापुरकी कुमारी चौधरीले राप्तीको बगर छेउमा करिब एक बिघामा रोपेको तरबुजा लटरम्म फलेको छ । त्यस्तै वर्षौंदेखि तरकारीखेती गरिरहेकी कुमारीको बारीमा भिन्डी, लौका, करेला छन् । तर बन्दाबन्दीका कारण बजारसम्म पु¥याउन भने समस्या भएको छ । लमही, भालुवाङ र घोराही बजारमा तरकारी पु¥याउन अहिले गाह्रो छ ।

“पहिले सय रुपैयाँ भाडा तिरेर घोराहीमा आएर तरकारी बिक्री गर्थें, दैनिक रु दुई हजारदेखि तीन हजारसम्म कमाइ हुन्थ्यो । तर अहिले घोराहीसम्म आउन सवारी साधन पाइँदैन । सवारी ‘रिजर्भ’ तरकारीको पैसा सकिन्छ”, उहाँले भन्नुभयो । गढवाबाट घोराही आउन पुग्न रु तीन हजार तिर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालयले हप्तामा आइतबार, मङ्गलबार र शुक्रबार तरकारीलगायतका अत्यावश्यक वस्तु खरिदबिक्रीका लागि बजार खुला गरेको छ । यी दिनमा स्थानीय किसानले बजारमा तरकारी ल्याउँछन् । छिटुवा र डोकोमा तरकारी बेच्न ल्याउनेलाई सुरक्षाकर्मीले हप्काउने गरेको किसानको गुनासो छ ।

घोराही उपमहानगर धर्ना–५ नैनवारकी सुकमती चौधरीको बारीमा पनि लटरम्म तरकारी छ । बिहानको समयमा बजारसम्म तरकारी ल्याउनुहुन्छ । पहिले रु ५० भाडा लाग्ने बाटोमा अहिले टेम्पोले रु ५०० लिन्छ ।

दाङको देउखुरी क्षेत्र र घोराही आसपासमा बाह्रै महिना तरकारी उत्पादन हुन्छ । सामूहिक कृषि सहकारी सञ्चालन गरेर उत्पादन गर्नेहरु पनि धेरै छन् । सहकारीको आफ्नै सवारी भएकाले बजारसम्म ल्याउन सजिलो छ । तर साधन नभएका सहकारीले भने चर्को मूल्य र बिचौलियाको शोषणमा परेका छन् । घोराही उपमहानगरपालिका–३ झिङ्नीमा रहेको सुुधार सामाजिक उद्यमी सहकारी संस्थाका भोजराज चौधरी बजार नजिकै भएर पनि बन्दाबन्दीका कारण आफूहरु बिचौलियाको मारमा परेको बताउनुहन्छ ।

उहाँहरुको सहकारीमा आबद्ध करिब २५० कृषकले तरकारी उत्पादन गरिरहेका छन् । उहाँले भन्नुभयो, “सहकारीमार्फत सयौँ बिघा जग्गामा तरकारी गरेका छौँ । आफैँ बजार लैजाउँ सवारी छैन । व्यापारीलाई दिउँ मूल्य दिँदैनन् ।”

घोराही–१३ ज्यामिरेमा ३०० भन्दा बढी कृषक सहकारीमा आबद्ध भएर सामूहिकरुपमा तरकारीखेती गरिरहेका छन् तर उनीहरुलाई पनि बजारसम्म ल्याएर आफ्नो उत्पादन बिक्री गर्न गाह्रो भइरहेको बताउँछन् ।

दाङको देउखुरीमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारीसँग भने आफ्नै भ्यान छ जसका कारण सहकारीमा आबद्ध किसानले उत्पादन गरेका तरकारीजन्य वस्तु सहकारीको भ्यानमार्फत बिक्री भइहेको छ । लमही नगरपालिका–९ मा रहेको कर्मठ सहकारीमा करिब एक हजार १०० किसानले तरकारी उत्पादन गरिरहेका छन् । त्यस्तै वडा नं १ को सुनडवरीमा रहेको निकमल सहकारीमा पनि एक हजार १०० किसान परिवार तरकारीखेतीमा आबद्ध छन् ।

वडा नं २ मा रहेको समुुन्ती महिला सहकारीमा ६०० र सतवरियामा रहेको दीपन सहकारीमा आबद्ध ७०० बढी महिलाले खसीबोका, दूध र तरकारीजन्य वस्तु उत्पादन गरिरहेका छन् । तर त्यसले पनि बजार पाउन नसकेको किसानले बताउँदै आएका छन् । देउखुुरीमा ठूलो बजार नहुँदा त्यहाँ किसानले जिल्ला बाहिर वा घोराही र तुलसीपुरकै बजारमा भर पर्नुपर्छ । बन्दाबन्दीका कारण यातायातको सुुविधा नहुँदा किसानले सहजै बजारसम्म तरकारी ल्याउन सकेका छैनन् । जसका कारण तरकारी किसान मर्कामा परेका छन् ।

घोराहीमा रहेको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष गुलाम रसुल प्रशासनले हप्ताको तीन दिन तरकारी बिक्री गर्ने समय दिएकाले त्यसमा कुनै रोकतोक भए आफूलाई खबर गर्न आग्रह गर्नुहुन्छ । स्थानीय किसानको तरकारीलाई सहज बजारसम्म आउन दिने वातावरण बनाउन प्रशासनलाई आग्रह गरिएका कारण प्रशासनले पनि छुट दिएको उहाँ बताउनुुहुन्छ ।

बन्दाबन्दीपछि दाङमा भारतीय र जिल्ला बाहिरको तरकारी पूर्णरुपमा बन्द गरिएको छ । यहाँ स्थानीय उत्पादनले नै बजार धानेको छ । घोराही आसपास र देउखुरी क्षेत्रमा धेरै तरकारी उत्पादन हुने गरेको व्यवसायी बताउँछन् । यसैले स्थानीय उत्पादनको तरकारीले बजार धानेका छ ।

कृषि उपज समितिका अध्यक्ष गुलाम रसुल पहिले बिचौलियाले छिमेकी मुलुक भारतबाट तरकारी ल्याउने र जिल्लाको उत्पादन बाहिर पठाउने हुँदा उपभोक्तालाई तरकारीको मूल्य धेरै पर्ने गरे पनि अहिले बजारमा तरकारीको मूल्य समायोजन भएको बताउनुहुन्छ । पहिले दाङमा प्रयोग हुने आलु ९० प्रतिशत भारतबाट आउने गरेको उहाँ बताउनुहुन्छ । तर अहिले भने यहीको आलु बिक्री भएको छ । अहिले उपभोक्ताले सस्तो मूल्यमा ताजा तरकारी पाइरहेका छन् । लकडाउनपछि यहीको उत्पादनले पुगेको बताइन्छ ।

स्थानीय प्रशासनद्वारा घोराहीमा सञ्चालित तरकारी बजार हाल बन्द छ । हप्ताको तीनदिन बिहानमात्र अन्य पसलसँगै तरकारी बजार खुल्ने गरेको छ । यसका कारण यहाँका किसानले छिटुवा, डोकोमा बोकेर घर घरमा तरकारी पु¥याइरहेका छन् ।

तरकारी किसानबाट बिचौलियाले दुःख दिएको गुनासो आएपछि केही दिनयता घोराहीस्थित ग्रामीण महिला उत्थान केन्द्र नामक एक गैरसरकारी संस्थाले किसानले घरबाट ल्याएको तरकारी संस्थाकै प्राङ्गणमा राखेर बिक्री गर्ने वातावरण मिलाइदिएको छ । सहकारी सहजकर्ता पार्वती बस्नेतले व्यापारीबाट किसान मर्कामा परेको गुनासो आएपछि सहकारीले किसान र उपभोक्ताबीच सहजीकरण गराएको बताउनुुभयो ।

तरकारी व्यवसायीले किसान र उपभोक्ताबीचको मूल्यमा धेरै अन्तर राखेको गुनासो गरेपछि केही स्थानीय युवाले उज्यालो बिहानी फाउन्डेशनमार्फत किसानको बारीबाट तरकारी ल्याएर मुनाफारहित रुपमै उपभोक्तासम्म पु¥याइरहेका छन् । केही आर्थिक सहयोग जुटाएर उनीहरुले किसानकै मूल्यमा उपभोक्तालाई तरकारी उपलब्ध गराएका हुन् । –––

सम्बन्धित खवर