लाजले शरम मान्दै भन्यो–प्रधानमन्त्रीज्यू ‘स्टे सेफ’

लाजले शरम मान्दै भन्यो–प्रधानमन्त्रीज्यू ‘स्टे सेफ’

बिष्णु गाैतम

हुन त यो प्रश्न समवेदना विहीन व्यक्तिहरुले नपढेकै राम्रो तर पनि सोधिहालें ‘प्रधानमन्त्रीज्यू मलाई हिजो रातभरी निन्द्रा लागेन किन होला?’ किनभने तपाईं मैले सोचेको जति अमानवीय हुनु हँुदैन भन्ने लागेर नै सोधेको हो अन्यथा नलिनुहोला ।

लागोस् पनि कसरी है, म आजभोलि न दिन, न रात, न गते, न बार, न महिना केही छुट्याउनै सक्ने अवस्थामा छैन । यो मेरो मात्र समस्या हुँदै होइन म पात्र मात्र हो । नपत्याए सोध्नुहोस् त आफ्ना केही स्वतन्त्र चुण्डमुण्डहरुलाई । विचरा उनीहरुको पनि हालत यस्तै छ । अब अनुमान लगाउनुहोस् सर्वसाधारण जनताको के हालत होला ? अझ् रेड जोनका नागरिकको अवस्था ? सायद यही कारणले होला मलाई निन्द्रा नलागेको । तपाईं पनि त सिल्पिङ ट्याब्लेटकै भरमा होला नी है ?

सुन्नु न, प्रधानमन्त्रीज्यू तपाईंले खाएको सिल्पिङ ट्याब्लेट कोरोना रेड जोन उदयपुर, नेपालगञ्ज, पर्सा, सर्लाही, धनुषा र विरगञ्ज लगायत भारतीय सिमावर्ती स्थानका नागरिकलाई पनि दिन पाए उनीहरु पनि एक निन्द्रा निदाउँथे कि ? तपाईंहरु त २/४ रोपनी क्षेत्रफलमा फैलिएको आलीसान दरबारमा बसेर पनि कोरनाको शंका लाग्यो अनि परिक्षण गरेर ढुक्क हुनुभएको होला । तर के गर्नु खुलाचौरमा सामूहिक बसेर पनि कोरनाको सामान्य परीक्षण समेत गर्न नपाएर त्रासमा घर फर्कन बाध्य नेपालीको अवस्थाको खबर तपाईंको दरबार र तपाईंले उपचार गरिरहेको अस्पतालको बेडसम्म कसले पु¥याइ देला यो बन्दाबन्दीमा ।

विकराल अवस्थामा घरको भान्छेले पहिल्यै डकारेर बस्यो भने परिवारका साना सदस्यहरु भोकभोकै मर्दैैनन् होला र ? खै तपाईंहरुको विवेक । नेपाली उखान छ, ‘निगोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ’ यो उखान तपाईं जस्ता केही नेताहरुमा निकै सान्दर्भिक भएको छ, यो कुरा मलाई भन्दा उखान शिरोमणी तपाईंलाई थाहै छ नि हैन र । सामान्य कोरोना परीक्षण किटको अभावमा मानसिक रुपमा छट्पटाएर सामूहिक क्वारेन्टिनमा बसेकाहरु ज्वरो नापेर घर फर्कन बाध्य छन्, तर भान्छेहरु ढोका लगाएर सुल उठ्ने गरी डकार्ने यो पनि विधी हो र ?
लकडाउनले गोल्डेन जुब्ली मनाई सक्यो तर तपाईंहरु यसलाई उत्सवको रुपमा मनाउँदै गोल्डेन लाइफमा रमाई रहनु भएको छ ।

माफ गर्नु होला यत्रो जघन्य आरोप लगाए, के गर्नु तपाईंहरु काम नै यस्तै गर्नुहुन्छ । कि आफैं बुुझ्नु नत्र भने आफू भन्दा जान्ने विश्व स्वास्थ्य संगठनले भनेको त मान्नु । उसले प्रस्ट भनेको छ, ट्राभल हिस्ट्री नभएका, संक्रमितको प्रत्यक्ष सम्पर्कमा नभएका र संक्रमण समुदाय स्तरमा फैलिएको क्षेत्रमा बसोबास नगरेका व्यक्तिको कोरोना परीक्षण गर्न जरुरी छैन । रेड जोनका नागरिकको घाउमा अमिलो छर्कर्दै सिंहदरबार भन्दा आलिसान दरबारको गेटबाट बाहिर ननिस्किएकाहरुको कोरोना परिक्षण गर्नु के तपाईंहरुको गोल्डेन लाइफ होइन र ?

छातीमा हात राखेर मर्नु पर्छ भन्दै धर्म सम्झेर भन्नुस् त, कोरोना संक्रमित १ जनालाई पनि तपाईंले प्रत्यक्ष रुपमा देख्नुभएको छ त ? ती संक्रमितको स्याहार उपचार र परिवेशमा रहेकाको परीक्षण गर्न बिर्सेर यो खालको जग हसाउनु कुनैपनि जिम्मेवार सरकारले सोच्न नसक्ने कुरा हो ।

तपाईंहरुका चर्तिकला इन्टरनेटको माध्यमबाट अवलोकन गरिरहँदा बेलायतको लण्डनस्थित रोयल फ्री अस्पतालकी आइसियु विभागकी चिफ नर्स ४२ वर्षीया जुुयनिता निक्लाले बिबिसीलाई दिएको अन्तर्वार्ताले निकै भावुक बनायो । के गर्नु सरकार आफ्नो बाबु चोर भयो भनेर अरुलाई बाबु भन्ने नैतिकता म सँग छैन । उनको अन्तर्वार्ता अनुसार उनी दैनिक अन्तिम अवस्थाका कोरोना संक्रमणमा रहेका ६० जनाको उपचारमा संलग्न छिन् ।

उनले डियुटी समय भन्दा पहिला घरमा सम्पर्क गर्छिन् सबैसँग कुरा गर्छिन् अनि सहकर्मीसँग अल द बेस्टको आशामा स्टे सेफ शब्दसँगै काम सुरु गर्छिन् । जब बिरामीको अवस्था अन्तिम जस्तो लाग्छ तब भेन्टिलेटरको स्विच अफ गर्छिन् । उनी भन्छिन्–‘भेन्टिलेटर लगाउने र बिरामीको उमेर र अवस्था हेरेर स्विच अफ गर्ने काम निकै दर्दनाक हुन्छ, किनभने भेन्टिलेटरको स्विच अफ गरेको ३ मिनेटमा बिरामी मर्छ, तर पनि महामारी हो गर्नै पर्छ ।’ पछिल्ला २ हप्ता उनले आइसियुको ढोका खोल्न पनि नभ्याएको धारणा राखेकी थिइन् ।

हाम्रोमा त विचरा सरकारको ध्यान ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएको छ । कोरोना परीक्षण किटको अभावमा धमाधम परीक्षण ल्याबहरु बन्द भएका छन् । सरकार भने मन्त्री र प्रधानमन्त्री अनि कमिसनको खेलमा छ । यति निच शब्द त प्रयोग गर्न बाध्य नपार्न सरकार ‘आफ्नै आमालाई जलाउन किनिने दाउरामा त कमिसन नखा ।’

‘जो पोइ होला जस्तो छ, उहीँ जेठाजु’ परेपछि के गर्नु हाम्रा स्वास्थ्यमन्त्री भानुुभक्त ढकाल । स्वास्थ्यमन्त्रीले कोरोना परीक्षण पिसिआर र आरडिटीको बारेमा थाहै छैन भन्छन् । मन्त्रीज्यू या त महामारीको चरणमा या त पिसिआर परीक्षण गरिएकालाई मात्रै आरडिटी गर्ने विश्वव्यापी मान्यता छ र चिकित्सा विज्ञानले पनि यही भनेको छ । पिसिआर महँगो पर्ने भएका कारण आरडिटी र त्यो पनि नभए ज्वरो नापेर फिर्ता गर्ने कुन हदसम्मको नियति हो मन्त्रीज्यू ।

कोरोनाको संक्रमणमा खान नपाएर आठ बच्चाहरुको रुवाई बन्द गर्न र अबोध बच्चाहरुको मन भुलाउन केन्याकी पेनिता बहाती कित्साओले ढुङ्गा पकाएझैं रेड जोनका नागरिकलाई भुलाउन यस्तै कुनै उपाय सोच्नु होला । आखिर हामी तपाईंको कर्तुतलाई भुली दिन्छौं र पत्याइँ दिन्छौं तपाईंका आश्वासनहरु ।

मान्छेले जसरी पनि आफ्नो हैसियत देखाइ हाल्छ भने झैं विदेशबाट ल्याइएका सामान बुझ्न हाम्रा स्वास्थ्यमन्त्रीलाई हात मिलाउन कति हतारो हो भनेको । तिमीहरु आफूले बनाएको नियम आफैं मान्दैनौं भन्ने सबैलाई थाहा छ तर पनि किन संसार हाँस्ने पात्र बन्यौ भन्ने मात्रै हो ।

पैसा हो भन्दैमा रक्ष्यानमा खसेकोलाई दाँतले टिप्न त भएन नि कोरोना परीक्षण आफैंमा उपचार होइन माननीयज्यूहरु सामाजिक दुरी, खानपान र आफ्नो व्यवहारमा पनि परिवर्तन गर्नु जरुरी छ नत्र भने हामीले रामराम बाहेक के भन्न सकिएला र ! अन्त्यमा, भन्न मन लागेको छ प्रधानमन्त्रीज्यू विश्वमा नै उमेर पुुगेका र वृद्धवृद्धाहरुमा कोरोनाबाट बढी संक्रमित भएका छन् । त्यसैले स्टे सेफ । सबै बुढा नेताहरु, तपाईंहरु नभए पुनः कुर्सीको खेलमा को लाग्छ ?

सम्बन्धित खवर