व्यास नगरपालिका कृषि र शिक्षालाई प्राथमिकता राखेर योजना निर्माण गर्ने

व्यास नगरपालिका कृषि र शिक्षालाई प्राथमिकता राखेर योजना निर्माण गर्ने

दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने भएको छ । नगर कार्यपालिकाको शुक्रबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने निर्णय गरेको हो ।

योजना निर्माणका लागि सबै वडाहरुबाट आगामी जेठ २० गतेभित्र सम्बन्धित पक्षसँग छलफल गरी वडागत योजना नगरपालिकामा पेश गर्न निर्देशन दिइएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “वडामा सम्बन्धित पक्षहरुसँग छलफल गरी शिक्षा र कृषिलाई प्राथमिकता दिने खालको योजना बनाउने तयारी थालिएको छ”, श्रेष्ठले भन्नुभयो ।

आर्थिक वर्ष २०७६÷७७ मा सम्झौता हुन बाँकी रहेका योजनाको यसै वर्ष सम्पन्न हुनसक्ने भएमा आगामी जेठ १५ गतेसम्म सम्झौता गरी कार्य अगाडि बढाउने निर्णय भएको छ । कोभिड–१९ का प्रभावले गर्दा चालू आर्थिक वर्षमा योजना सम्पन्न हुन नसके त्यस्ता योजनालाई आगामी वर्षको क्रमागत योजनामा स्थानान्तरण गरिनेछ ।

५० शै्ययाको एकान्तबास बनाइने
नगरपालिकाले व्यास नगरपालिका–१ र व्यास नगरपालिका–४ मा ५० शै्ययाको एकान्तबास बनाउने निर्णय गरेको छ । बन्दाबन्दीका क्रममा विभिन्न जिल्लाबाट सर्वसाधारण आउने क्रम नरोकिएपछि त्यस्ता व्यक्तिलाई निगरानीमा राख्नका लागि एकान्तबास बनाउन लागिएको हो । प्रवक्ता श्रेष्ठका अनुसार व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालय र व्यास नगरपालिका–४ स्थित मदरसा आधारभूत विद्यालयमा २५/२५ श्ययाको एकान्तबास बनाउने निर्णय गरिएको छ ।

व्यास नगरपालिकाले बन्दाबन्दीबाट प्रभावित भएका तीन हजार ५९२ घरधुरीलाई राहत वितरण गरेको जनाएको छ । साथै विभिन्न सङ्घसंस्थामार्फत ८९९ घरधुरीलाई राहत वितरण गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण र राहत वितरणका लागि खडा गरिएको कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा रु ७४ लाख ८९ हजार ११६ जम्मा भएको नगरपालिकाले जनाएको छ । जसअनुसार उक्त कोषमा नगरपालिकाबाट रु ५१ लाख, प्रदेश सरकारबाट रु १० लाख, नेपाली काँग्रेस व्यास नगरसमितिबाट रु पाँच लाख, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० व्यास नगर कमिटीबाट रु एक लाख ११ हजार १११ जम्मा गरिएको छ ।

नगरपालिकाका सबै वडाहरुमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जेठ १० गतेभित्र लगत लिइ सुकुम्बासी समस्या समाधान आयोगमा तथ्याङ्क पठाउने निर्णयसमेत नगरपालिकाले गरेको छ ।

खाद्यान्न पसल दुई दिन मात्र खुल्ने
तनहुँको शुक्लागण्डकी नगरपालिकाभित्र सञ्चालित खाद्यान्न पसल अब हप्ताको दुई दिन मात्रै खुल्ने भएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गरेर नगरपालिकाले जेठ ४ गतेदेखि हप्ताको दुई दिन आइतबार र बिहान मात्रै खाद्यान्न पसल खोल्न दिने निर्णय गरेको हो ।

आइतबारदेखि लागू हुने गरी हप्ताको दुई दिन बिहान ६ बजेदेखि १० बजेसम्म खाद्यान्न पसल खोल्न पाउने निर्णय गरिएको नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो । दैनिकरूपमा खाद्यान्न पसल खोल्दा सर्वसाधारणको भीड बढेर जोखिम भएकाले यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । मेडिकल, विज भण्डार, डेरी पसल भने दैनिकरूपमा सञ्चालन हुनेछन् ।

नगरपालिकाले आइतबारदेखि नै तरकारी तथा फलफूल पसल अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी नगरक्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थालाई पनि आइतबार र बिहीबार बिहान ११ बजेदेखि ३ बजेसम्म सुरक्षा प्रबन्ध गरी सञ्चालनको अनुमति दिइएको छ ।

तरकारी तथा फलफूल पसल बन्द
व्यास नगरपालिका क्षेत्रभित्र खुला रहेका तरकारी तथा फलफूल पसल शनिबारदेखि पूर्णरूपमा बन्द हुने भएका छन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीको क्रममा बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुँदै आएको फलफूल तथा तरकारी पसल तीन दिन पूर्णरूपमा बन्द हुने भएको हो ।

कोरोना प्रभावित जिल्लाबाट तरकारी ल्याएर बिक्री वितरण भइरहेको आम जनमानसको गुनासोको आधारमा शनिबारदेखि सोमबारसम्म पसल बन्द गर्ने निर्णय भएको व्यास नगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मीरा जोशीले जानकारी दिनुभयो । बिहानको समयमा तरकारी तथा फलफूल पसल सञ्चालन हुँदा सर्वसाधारणको भीडभाड हुने गरेको छ ।

सम्बन्धित खवर