लमजुङको कृषि क्याम्पसमा जिल्लास्तरीय क्वारेन्टाइन निर्माण

लमजुङको कृषि क्याम्पसमा जिल्लास्तरीय क्वारेन्टाइन निर्माण

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ मा रहेको कृषि क्याम्पसमा जिल्लास्तरीय क्वारेन्टाइन निर्माण गरिएको छ ।

बाहिरी जिल्लाबाट लमजुङ तनहुँ सिमानाबाट प्रवेश गर्नेलाई सो क्वारेन्टाइनमा राख्नका लागि सो क्याम्पसमा जिल्लास्तरीय क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए । विश्वमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमितको उच्च सतर्कता अपनाउँदै बाहिरी जिल्लाबाट लुकीछुपी आउनेलाई राख्नका लागि ५० श्यया (बेड) को क्वारेन्टाइन निर्माण भएको छ ।

यहाँ २५ पुरुष र २५ महिलाका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसारको क्वारेन्टाइन निर्माण भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । थप आवश्यक परेमा क्वारेन्टाइन बेड बढाउँदै जाने प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ । उनका अनुसार निर्माण तथा व्यवस्थापनका लागि जिल्लाका आठवटा स्थानीय तहले रु एक÷एक लाख सहयोग गर्ने विपद् व्यवस्थापन समितिले वैशाख २६ गते निर्णय गरिसकेको छ ।

जिल्लामा रहेको चार÷चार नगर र गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चाल समितिको कोषमा रकम जम्मा गर्ने र सोबाट क्वारेन्टाइन सञ्चालन हुने भएको छ । सो क्वारेन्टाइन रेखदेखका लागि बेँसीशहर नगरपालिका–१ मा रहेको नेपाली सेनाको उदिपुरस्थित श्रीजङ्ग गणबाट सैनिक टोली खेटिएको र आजबाट क्वारेन्टाइनमा राख्न शुरु गर्ने प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ ।

जिल्लामा यसअघि आठवटै स्थानीय तहले ७६ स्थानमा एक हजार बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ । यस जिल्लास्तरीयसहित जिल्लामा एक हजार ५० वटा क्वारेन्टाइन बेडको क्षमता जिल्लामा भएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङसँग सिमाना जोडिएको गोरखा, तनहुँ र कास्कीमा थप प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खवर