अब आरडीटी हैन, पीसीआर मात्रै : गण्डकी प्रदेश

अब आरडीटी हैन, पीसीआर मात्रै : गण्डकी प्रदेश

कास्की : गण्डकी स्वास्थ्य निर्देशनालयले अब कोरोनाको द्रूत परीक्षण (आरडीटी) नगर्ने भएको छ । निर्देशनालयले गण्डकी प्रदेशमा बाहिरबाट मान्छे आउने बाटो नै बन्द भएकाले आरडीटी परीक्षण स्थगित गरिएको जिकिर गरेको छ ।

यद्यपि, चोरबाटोबाट गण्डकी आउनेको संख्यामा कमी आएको छैन । गण्डकीकै नवलपुरमा बिहीबार एक व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

‘अब आरडीटी किट त छ तर प्रयोग नगर्ने, अब सोझै पिसीआर गर्ने, पिसीआर पर्याप्त छ, बाहिरबाट मान्छे नआएपछि आरडीटीको उपयोगिता भएन नि’, गण्डकी प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले भने, ‘पिसीआर ७÷८ सय जति छ, चाहिएको बेला पठाइदिन्छ ।’ आरडिटी परीक्षणको विश्वसनीयतामाथि नै प्रश्न उठेका बेला गण्डकीले यो निर्णय गरेको हो । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सार्वजनिक रुपमै आरडीटी हैन पीसीआरमै जोड दिनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

परीक्षणको दायरा थप फराकिलो बनाउने तयारीको विषयमा प्रश्न गर्दा उनले शंकास्पद व्यक्ति भेटिए मात्रै जाँच गर्न सकिने जानकारी दिए । ‘बाटो हिँडेको सबैलाई गर्ने कुरा भएन’, उनले भने, ‘शंकास्पद व्यक्ति भए जाँच गर्ने हो ।’ आरडीटी परीक्षण विश्वासिलो नभएको भन्दै सर्वत्र आलोचना भइरहेको बेला गण्डकीले आरडीटी परीक्षण नगर्ने निर्णय गरेको हो । परीक्षणको दायरा फराकिलो बनाउने माग उठिरहेको बेला उनको यो भनाई सार्वजनिक भएको हो ।

बागलुङबाट फर्केका मजदुरमा कोरोना संक्रमण भेटिनु र लुकिछिपी प्रदेश छिर्नेहरुको संख्या बढ्नुले जनमानसमा संशय उत्पन्न गराएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीको पछिल्लो अपडेटअनुसार गण्डकीमा ७ सय ६७ जनाको नमुना संकलन भएको छ । जसमध्ये २ जनाको रिपोर्ट नेगेटिभ निस्किएको थियो ।

उनीहरु अहिले निको भएर पनि घर फर्किसकेका छन् । २९ जनाको रिपोर्ट आउनै बाँकी छ । बिहीबार थप नयाँ संक्रमित पनि थपिएका छन् । निर्देशनालयको बुधबारको अपडेटमा ७ सय ५७ को पिसिआर विधिबाट परीक्षण भएको ग्राफ सार्वजनिक गरेको थियो । सामान्य हिसाबले हेर्दा पनि प्रदेशले दैनिक १० जनाको मात्रै परिक्षण गरेको छ । केही समयअघि निर्देशनालयले परिक्षणको दायरा बढाउन जिल्लाका अस्पतालमा पनि तालिम दिने बताएको थियो ।

आफ्ना नागरिकलाई कोरोना जाँच गराएर सुरक्षित महसुस गराउने विषयम पनि प्रदेशले कुनै योजना अहिलेसम्म सार्वजनिक गरेको छैन ।

६ हजार ७ सय १६ जनाको ¥यापिड टेस्ट (आरडिटी) परिक्षण भएको स्वास्थ्य निर्देशनालयले बताएको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकमा लकडाउन सुरु हुनुअघिको विदेशबाट ५ हजार ३ सय ८३ जना भित्रिएका थिए । गण्डकी प्रदेशमा ४ सय ३२ जना क्वारेन्टाइनमा छन् । शर्माले प्रदेशमा सुरक्षा व्यवस्था थप कडा पारिएको पनि बताए ।

बिहीबार गण्डकी प्रदेशमा कोरोना भाइरसका नयाँ संक्रमित फेला परे । योसँगै दुई बिरामीलाई निको पारेर घर फिर्ता पठाईसकेको गण्डकीलाई थप जोखिम बढेको छ । कोरोना संक्रमितलाई निको पारेर घर फिर्ता पठाई सकेको गण्डकी प्रदेश सरकाले आफूलाई कोरोना फ्री भएको बताउँदै प्रदेशलाई ग्रिन जोन घोषणा गरेर विकास निर्माणका काम सँगै उद्योगधन्दा पनि खोल्ने बताएको थियो ।

फाट्टफुट्ट कामकाज सुरु पनि भइरहेका छन् । फेरि, नयाँ संक्रमित भेटिएपछि अवस्था थप जटिल बन्ने अनुमान पनि बढेको छ ।

सम्बन्धित खवर