कोरोना भाइरस कहिल्यै नहराउने डब्लुएचओको चेतावनी

कोरोना भाइरस कहिल्यै नहराउने डब्लुएचओको चेतावनी

 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस कहिल्यै नहराउने चेतावनी दिएको छ।

बुधवारको प्रेस ब्रिफिङमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो।

डब्लुएचओका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिँदै यस्तो बताएका हुन्।

त्यसैगरी उनले भाइरस विरुद्धको खोप बनिहाले पनि भाइरसको नियन्त्रणका लागि निकै ‘ठूलो प्रयास’ चाहिने बताए।

कोरोनाभाइरसका कारण विश्वभर झन्डै ३ लाख मानिसको मृत्यु भइसकेको छ भने ४४ लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन्।

‘बुझ्नुपर्ने कुरा के छ भने यो अरू भाइरसजस्तै हाम्रो समुदायमा बस्नसक्छ। यो कहिले पनि नजान सक्छ’, जेनेभामा डा. रायनले भने,‘एचआइभी गएको छैन तर हामी त्योसँग बसिरहेका छौं।’

त्यसपछि रायनले कसैले पनि यो भाइरस कहिले हराउँछ भनेर भन्न नसक्ने विश्वास पनि व्यक्त गरे।

सयभन्दा बढी खोपहरू विकासका क्रममा छन् तर खोप हुनुका बाबजुत दादुरा जस्ता अन्य रोगहरू नहराएको रायनले स्मरण गराए।

प्रयास गर्ने हो भने अझै पनि भाइरसलाई नियन्त्रणमा लिन सकिने भनाइ डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयिससको छ।

‘बाटो हाम्रो हातमा छ र यो सबैले बुझ्नुपर्ने विषय हो। हामी सबैले यस महामारीको अन्त्यका लागि योगदान गर्नुपर्छ’, उनले भने।

टेड्रोसले संक्रमणको दोश्रो लहरबारे थप जानकारी नभएसम्म प्रतिबन्धहरु सहज पार्ने कुनै ग्यारेन्टी तरिका नभएको बताए।

‘धेरै देशहरूले यो समस्याबाट निस्कन विभिन्न उपायहरु रोज्नु हुन्छ होला,’डब्लुएचओका महानिर्देशक टेड्रोसले बुधबार भने, ‘तर हाम्रो सिफारिस यो छ कि सबै देशहरू अझै पनि उच्चस्तरको सतर्कतामा रहिरहनु जरूरी छ।’

‘यो महामारीबाट निस्कन हामीलाई समय लाग्छ भन्ने कुरा दिमागमा राख्नु जरूरी छ’, डब्लुएचओकी महामारी विज्ञ मारिया भान केरखोभले भनिन्।

उनीहरूको यस्तो टिप्पणी कयौं राष्ट्रहरुले लकडाउनलाई विस्तारै खुकुलो पार्ने लागेको बेला आएको हो।

सम्बन्धित खवर