रतुवामाई नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

रतुवामाई नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

 

प्रबेश बिष्ट, इटहरा :  विश्वभर कोरोना भाईरस (कोभिड १९) को संक्रमणले हरेक क्षेत्र प्रभावित भईरहेको छ । नेपालमा पनि चैत ११ गते देखि लकडाउन जारी गरिएको छ । लकडाउनका कारण विकास निर्माणका काम अलपत्र परेका छन् । लकडाउन लम्बिदै जाँदा अलपत्र विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन् ।

त्यस्तै कोरोना भाईरस संक्रमणको जोखिमका बिच मोरङको रतुवामाई नगरपालिका वडा नं. १, २, ३ र ४ मा रहेका माहाराज थानहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।

जिल्लाकै विभिन्न जातजाती, भाषा, धर्म र संस्कृतिको पहिचान बोकेको रतुवामाई नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्यका साथ उत्त योजना अघि सारिएको हो ।

उत्त क्षेत्रमा रहेका माहाराज थानहरुको संरक्षण तथा संवर्धन गर्ने उदेश्यले नेकपा मोरङ जिल्ला सचिब गणेश उप्रेती (सुशील) को पहलमा उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३० लाख बजेट बिनियोजन गरी निर्माणको तयारी गरिएको नेकपा रतुवामाई नगर कमिटि इन्चार्ज सुमन कालिकोटेले जानकारी दिनुभयो ।
“रतुवामाई मोरङका स्थानीय तहहरु मध्ये कला, संस्कृति, भाषा, धर्म र संस्कृतिले भरिपूर्ण रहेको एक स्थानीय तह हो” कालिकोटेले भन्नुभयो, “यसको संरक्षण र संवर्धन गर्नु हाम्रो दायित्व हो। ”

बिनियोजन भएको रकमबाट ४ वटा वडाका ६ ठाउँमा महाराज थान निमार्ण हुने भएको छ । बुधबार वडा नम्बर ३ मा रहेको महाराज थानको सिलान्यास गर्दै नेकपा मोरङ सचिव गणेश उप्रेती (सुशील) ले एक महिनाभित्र काम सकिने बताउनुभयो । साथै उहाँले सामाजिक दुरी कायम गरेर निर्माण काय गरिने पनि बताउनुभयो ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन उच्च सावधानी अपनाउँदै निर्माण कार्यलाई निरन्तरता दिँन मजदुरहरुलाई समेत सचिव उप्रेतीले आग्रह गर्नुभयो ।
सिलान्यास कार्यक्रममा नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रेती, नेकपा मोरङ जिल्ला सदस्य प्रकाश पौडेल, जिल्ला सचिवालय सदस्य तथा रतुवामाई इन्चार्ज सुमन कालिकोटे, नेकपा रतुवामाई संयोजक शिवनारायाण राजवंशी, जिविस उपप्रमुख प्रकाश शाह, रतुवामाई नगरपालिकाकी उपप्रमुख दयन्ता चुडाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर