वीरगञ्ज । बारा जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण जिल्लामा आवतजावत ठप्प पारी कर्फ्यू लगाउने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले पनि मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।
त्यसैगरी जिल्लामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन बाहेकका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । पर्सा जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लामा पर्सा जिल्लाबाट हुने आवतजावत जेठ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।
जिल्ला प्रशासनले कोभिड– १९ संक्रमण रोकथाम एवम् नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सु–व्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त नेपाली सेनाको समेत परिचालन गर्ने निर्णय पनि गरेको छ ।