दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले सुरु गरेको जग्गा बाँझो नराख्ने अभियानमा किसानले साथ दिएका छन् । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै खेती गर्दा वडा कार्यालयले अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएका हुन् ।
तरकारी खेतीमा अनुदान दिने घोषणापछि यहाँका किसानले बाँझो रहेका जग्गामा तरकारी खेती सुरु गरेका छन् । उक्त वडाको लालिम निवासी टेकनारायण पौडेलले साढे तीन रोपनी क्षेत्रफलमा शनिबारदेखि तरकारी खेती सुरु गरेका छन् । पर्याप्त सिँचाइको अभावमा विगत १७ वर्षदेखि बाँझो रहेको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने पौडेलले जानकारी दिए । “अहिले सिँचाइको सुविधासमेत पुगेको र किसानलाई प्रोत्साहित गर्ने नीतिले तरकारी खेती गर्ने प्रेरणा मिलेको छ”, उनले भने ।
सोही वडाको लालिममा केही किसानले समूह गठन गरी सामूहिक तरकारी खेती सुरु गरेको अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष रमेश महतले जानकारी दिए । उक्त ठाउँमा रहेको सात रोपनी सार्वजनिक जग्गामा सामूहिक तरकारी खेती गरिनेछ । बन्दाबन्दी लम्बिँदै जाँदा कृषि उत्पादन नभएर भोकमरीको अवस्था आउन सक्ने भएकाले बाँझो जग्गाको सदुपयोग गर्दै तरकारी खेती सुरु गरिएको उनले बताए । महतका अनुसार उक्त ठाउँमा छोटो समयमा उत्पादन हुने तरकारी खेती गरिनेछ ।
उनका अनुसार काँक्रो, भिण्डी, बोडीलगायतको खेती गर्नका लागि किसानले जग्गा सम्याउने काम गरिरहेका छन् । “वडा कार्यालयले तरकारी खेतीका लागि अनुदानको व्यवस्था समेत मिलाएको छ”, महतले भने, “सामूहिक तरकारी खेतीबाट किसान उत्साहित छन् ।”
शुक्लागण्डकी नगरपालिका–८ मा जग्गा बाँझो नराख्ने अभियान सुरु गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार बाँझो रहेका व्यक्तिका जग्गा तथा सार्वजनिक जग्गामा तरकारी खेतीका लागि किसानलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिएको छ । “वडालाई पुग्ने तरकारी वडाभित्रै उत्पादन गर्ने लक्ष्य लिएका छौँ”, वडाध्यक्ष रेग्मीले भने, “यसले वडाभित्रका बाँझो जग्गाको सदुपयोग हुनुका साथै कृषि उपज सामग्री उत्पादनमा सहयोग पुग्नेछ ।”
वडाध्यक्ष रेग्मीका अनुसार तीन रोपनी भन्दा कम क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई वडाको तर्फबाट निःशुल्क रुपमा बीउबिजनको व्यवस्था गरिनेछ भने तीन रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्ने किसान वा समूहलाई कूल लगानीको ५० प्रतिशत अनुदान दिइनेछ । “घरआँगनको जग्गा बाँझो राख्ने अनि बजारबाट तरकारी ल्याएर उपभोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तरकारी उत्पादनमा जोड दिइएको छ”, उाले भने, “यसले अन्य किसान पनि तरकारी खेतीतर्फ आकर्षित हुने विश्वास लिएका छौँ ।”
कृषिजन्य उत्पादनको क्रममा वडाभित्रकै श्रमिक तथा मजदुरलाई काममा खटाइनेछ । बन्दाबन्दीबाट प्रभावित भएर राहत बुझेका श्रमिक तथा मजदुरलाई कृषिकर्ममा खटाउने तयारी गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।
उनका अनुसार राहत बुझेकाहरुलाई वडाले विकास निर्माणका काममा खटाउन सुरु गरिसकेको छ । जसअनुसार पहिलो चरणमा सडकका नाला मर्मत तथा सरसफाइमा मजदुर खटाइएको छ । वडा कार्यालयले विभिन्न व्यक्तिसँग सहयोग उठाएर ३ सय ३८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । ती व्यक्तिलाई कृषिकर्म तथा विकास निर्माणका काममा खटाइनेछ ।
सामूहिक तरकारी खेतीको अभियानले वडालाई तरकारीमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ । उत्पादित तरकारीको बजारीकरणका लागि पनि वडाले सहजीकरण गर्ने रेग्मीले जानकारी दिए । वडाले साना किसान सहकारी संस्थासँगको सहकार्यमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्न लागेको छ ।
“उत्पादित तरकारीको बजारमा कुनै समस्या हुनेछैन, खैरेनीटार, दुलेगौँडा बजार नजिकै भएकाले पनि यहाँ उत्पादित कृषि उपजले सहजै बजार पाउनेछ”, उनले भने, “यहाँ उत्पादित कृषि उपज सामग्री खेर फाल्नुपर्ने अवस्था विगतमा पनि थिएन ।” वडालाई आलुमा आत्मनिर्भर बनाउन वडा कार्यालयले विगत वर्षदेखि नै किसानलाई अनुदानको व्यवस्था गर्दै आएको छ ।