भारतबाट पोखरा आएका अभिषेकले क्वारेण्टाईन बस्ने डरले घरबाटै हामफाले

भारतबाट पोखरा आएका अभिषेकले क्वारेण्टाईन बस्ने डरले घरबाटै हामफाले

पोखरा : पोखरा महानगरपालिका–८ ईन्द्रपुरी टोलका २१ वर्षीय अभिषेक बस्नेत भारतको कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए मंगलवार विहान । भारतबाट आएको थाहा पाएपछि स्थानी डराए अनि प्रहरीलाई खबर गरे ।

उनलाई क्वारेण्टाईनमा राख्न प्रहरी स्वास्थ्यकर्मीको टोली लिएर उनको घरमा पुग्यो । पुलिसलाई देख्ने वित्तिकै उनी घरको तेस्रो तल्लाबाट एक्कासी हाम फाले । क्वारेण्टाईनमा बस्ने हैरानी बेहोर्नु भन्दा भाग्न उपयुक्त लागेर हाम फालेका बस्नेतको भाग्ने योजना भने सफल हुन सकेन । प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लियो ।

रक्सौल आसपासको चोरबाटोबाट नेपाल छिरेका बस्नेत तरकारी बोकेको गाडीमा पोखरा छिरेका हुन् । रोजगारीको सिलसिलामा भारत गएका बस्नेतले नेपाल र भारतमा भएको लकडाउनको समयमा निकै सास्ती खेपे । लकडाउनका कारण भारतमा कुनै पनि सवारी साधन चलेका थिएनन् । कर्नाटकबाट कुनै दिन अत्यावश्यक सेवाका गाडी र कुनै दिन पैदलै उनी नेपालको सीमावर्ती सहर विहारमा आईपुगे ।

 

त्यहाँसम्म आउँदा उनले उनले कति ठाउँमा प्रहरीलाई कति ठाउँमा चालकलाई घुस खुवाउँदै विहारसम्म आए । विहारमा आएपछि नेपाल छिर्ने उनको सपना पुरा हुन सकेन । विहारको प्रहरीले त्यहाँको क्वारेण्टाईनमा राखिदियो । त्यहाँको क्वारेण्टाईनमा बस्दा पनि उनी सहित अन्य नेपालीहरुले निकै दुःख पाए । त्यही दुःख खप्न नसकेर त्यहाँको क्वारेण्टाईन तोडेर एकै रातमा बस्नेत सहित तीन सय नेपाली भागे ।

सिमानामा आएपछि भारतीय प्रहरीलाई पाँच सय रुपैंया भारु घुस खुवाएर चोरबाटोबाट उनी नेपाल छिर्न सफल भएका थिए । पोखराको क्वारेण्टाईनमा बस्नको लागि लिन जाँदा किन भागे त उनी ? यसको एउटै कारण हो प्रहरी । कर्नाटकबाट रक्सौलसम्म आईपुग्दा उनले धेरै ठाउँमा भारतीय प्रहरीको भाटा खानुपरेको सम्झे तीनै भाटा सम्झेर भागेको उनी बताउँछन् ।

 

वडाध्यक्ष रुद्रनाथ बराल, स्वास्थ्यकर्मी र प्रहरीको टोलीले उनलाई क्वारेण्टाईनको लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको छ । उनको पिसिआर परीक्षणको लागि स्वाब निकालेर परीक्षण गर्ने तयारी भईरहेको छ ।

सम्बन्धित खवर