कहिले आउलान् मुस्ताङमा पर्यटक

कहिले आउलान् मुस्ताङमा पर्यटक

जोमसोम : धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको पर्यटनक्षेत्र यतिबेला मणि हराएको नाग जस्तै सुनसान बनेको छ । विश्वव्यापी माहामारीको रुपमा सिर्जित कोरोना भाइरस ( कोभिड–१९ )रोकथाम तथा नियन्त्रणका लागि लगाएको डेढ महिने लकडाउनले जिल्लामा पर्यटकको उपस्थिति नहुँदा मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थल सुनसान बनेका हुन् ।

मुस्ताङ सदरमुकाम जोमसोममा हवाई तथा धावनमार्गबाट आउने पर्यटकको उपस्थिति शून्य छ । जिल्लाको पुथाङ एअरपोर्ट बजार तथा जोमसोम बजारका ३ दर्जन पर्यटक लक्षित साना÷ठूला होटलहरु लकडाउनले रित्तै छन् । सदरमुकाम जोमसोममा आधाजसोले होटल घरनै भाडामा लिएर व्यवसाय सञ्चालन गरेका छन् ।

बर्सेनि लाखौं रकम घरबेटीलाई भाडा बुझाउँदै आइरहेका पर्यटन व्यवसायीहरु यतिबेला व्यवसायनै धरापमा पर्ने अवस्थाले चिन्तित देखिएका छन् । सरकारले लक डाउन खुल्ला गरे पनि जिल्लामा पर्यटकको उपस्थित साविककै लय फर्किन धेरै समय कुर्नुपर्छ । एकातिर कोरोना कहरले व्यवसायनै चौपट बनेको छ भने अर्को तिर घरधनीले भाडा मिनाहा गर्नेबारे मुख नखोलेका व्यसायीहरुलाई आर्थिक भार थपिएको छ ।

तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङको सडकमार्गमा करिब ५ सय भन्दा बढी पर्यटक लक्षित होटल सञ्चालनमा छन् । जिल्लाको प्रमुख पर्यटकीय स्थल जोमसोम, मुक्तिनाथ, कागबेनी र लोमान्थाङ बजार लकडाउनको घुम्टोमा लुकेका छन् ।

मुस्ताङको प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ, कागबेनी श्राद्धस्थल, ढुम्बाताल, कोरोलानाका र लोमान्थाङ दरबार लगायतका पर्यटकीय तथा धार्मिक गन्तब्य कोरोना कहरले सुनसान बनेको हो ।

बर्सेनि हिउँदयामपछि पर्यटक आवागमनले चहलपहल हुने मुस्ताङको पर्यटनक्षेत्र चालुवर्ष कोरोना कहरले सुस्ताएको हो ।

सन् २०१८ को मार्चमा ५ हजार ६ सय ३५, अप्रिलमा ९ हजार ६ सय १५, मेमा १३ हजार ९ सय ९८ र जुनमा ४ हजार ५ सय ३९ पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०१९ को मार्च ५ हजार ३ सय ७८, अप्रिल १० हजार २ सय ६६, मे १२ हजार १ सय ४० र जुनमा ३ हजार ६ सय १० पर्यटक मुस्ताङ भित्रिएका थिए ।

सन् २०१९ मा ५७ हजार ५ सय ६५ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । उपल्लो मुस्ताङमा करिब ४ सय पर्यटक पुगेका थिए ।

गतवर्षको तुलनामा कोरोना कहरले २ तिहाई पर्यटक कम हुनसक्ने एक्यापका कार्यालय प्रमुख तुलसी दाहालले जनाए ।

जाडोयामपछिको मार्च देखि अक्टोबर सम्म मुस्ताङको होटलहरु पर्यटकले भरिभराउ हुने गथ्र्यो । पोखरा –जोमसोम हवाई सेवाका लागि २ वटा निजी कम्पनीको जहाजले दैनिक १८ उडानसम्म भर्थे । स्थलमार्गबाट पनि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध गर्ने तिर्थालुको उस्तै भीड लाग्थ्यो । नेपाली आन्तरिक पर्यटक मोटरसाइकल तथा जीप चढेर कोरोलानाका सम्म पुग्थे ।

कोरोनाका कारण लक डाउन भएसँगै यातायात व्यवसायी समेत विस्थापित हुने अवस्था आएको यातायात व्यवसायी सपुत थकालीले बताए । सरकारले आइतबार देखि ४२ वटा उद्योगधन्दा खोल्न अनुमति दिएसँगै मुस्ताङका बैंक तथा बित्तीय संस्थाहरु विस्तारै खुल्ला भएका छन् । यसअघि आवश्यकताका आधारमा सीमित समय खुल्ला भएका यहाको वित्तीय संस्थाले साविकको जस्तै नियमित सेवा दिन थालेका हुन् ।

बैंक तथा वित्तीयक्षेत्र नियमित हुन थालेपनि सेवाग्राहीको उपस्थिति एकदमै कम भएको गण्डकी विकास बैंकका शाखा प्रवन्धक महेश थकालीले जानकारी दिए । लक डाउनले जिल्लाको पर्यटन तथा यातायात क्षेत्र प्रभावित भएकाले बित्तियक्षेत्रको आर्थिक कारोवार घटेको शाखा प्रवन्धक थकालीले उल्लेख गरे ।

जिल्लाका बैंकहरुमा सेवाग्राहीले बचत भन्द पनि रकम झिक्ने र कर्जा लिनको संख्या बढेको जानकारी दिए । मुस्ताङमा नेपाल बैंक, कृषि विकास बैंकसहित ९ वटा वित्तीय संस्था छन् । यस्तै ५ वटा लघु वित्तीय संस्था रहेको शाखा प्रबन्धक थकालीले बताए ।

सम्बन्धित खवर