हावाहुरीले ७ महिनाको बच्चा सहित घरको छानो उडायो

हावाहुरीले ७ महिनाको बच्चा सहित घरको छानो उडायो

उदयपुर : उदयपुरमा विहिबार दिउँसो आएको हाबाहुरीले एक ७ महिनाको बच्चा सहित घरको छाना नै उडाएको छ । त्रियुगा नगरपालिका ७ सितलपुरका रामविकास नेपालीको ७ महिनाको छोरो सहित टिनले छाएको घर उडाएको छ ।

छिमेकी ढक बहादुर परियारका अनुसार ७ महिनाको रामविकास नेपालीको ७ महिनाको छोरा विपिन्द्र नेपालीलाई ५० मिटर भन्दा पर उडाएको थियो । उनले भने, ‘हेर्दा हेर्दै बाँसको कोरामा सारीको झोलुङ्गोमा सुतिरहेको बच्चा सहित टिनको छानो हावामा आकाशमै उडिरहेको थियो । घरको छानोको एक पाखा २० मिटरको दुरीमा खस्यो भने बच्चा भएको पाखो ५० मिटरको दुरीमा हावामै उडिरहेको थियो ।’ हावाहुरी आएपछि बुवाआमा घरको अरु काम गर्न थालेपछि एक्कासी आएको हावाहुरीले घरको टिनको छानोसहित बालक उठाएको थियो ।

उनले भने, ‘फिल्मी शैलीमा हेर्दा हेर्दै घर हावामा उडेपछि बच्चा रहेको थाहपाएपछि हामीले कुदेर गयौं । टिनको छानो एक ठाउँबाट अर्को ठाउँमा ठप्पकै राखेकोले बच्चा उछिटिएर मकैबारीमा पुगेपछि केही भएन् ।

टिनले छाएको घरको कोरामा बाझिएको साडीको झोलुङ्गोमा सुतिरहेको बच्चा पनि हावाहुरीले उडाएको त्रियुगा नगरपालिका ७ का वडाध्यक्ष भिमबहादुर पुलामी मगरले पुष्टी गरेका छन् ।

बच्चाको आँखा, नाक, कानमा सामान्य चोट लागेको छ । बच्चाको अवस्था अहिले ठिक रहेको वडाध्यक्षले बताए । वडाध्यक्षका अनुसार हावाहुरीले घर उडाउँदा एक लाख बढीको क्षति भएकोले क्षतिपूर्तिको लागि नगरपालिकासँग पहल गरेको बताए ।

यस्तै त्रियुगा, कटारी र चौदण्डीगढी नगरपालिका गरी करिव तीन दर्जन बढी घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ । तीन दर्जन बढीको घरमा करिव १५ लाख बढीको क्षति भएको जनाएको छ । यस्तै चौदण्डीगढी नगरपालिका ४ बसाहका गणेश बहादुर घिमिरेको घर नजिकै रहेको सिमलको रुख गोठमा ढल्दा एउटा गाईलाई रुखले किचेर ज्यान गएको छ

सम्बन्धित खवर