रौतहट, भारतले लगातार नेपाली मूमिमाथी अतिक्रमण गर्न थालेको छ । लकडाउनको मौका छोप्दै भारतले पछिल्लो समय रौतहटको दशगजा क्षेत्रमा बाँध विस्तार गरेको छ ।
रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको हो । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६–५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । अहिले सोही बाँधमा माटो थपेर अग्लो बनाउन थालेको हो ।
दशगजा क्षेत्रमा पक्की वा अस्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन । त्यस्ता संरचना भएमा भत्काउनु पर्नेमा भारतले भने सिमेन्टका बोराहरूमा माटो तथा ढुङ्गा भरेर तथा बाँधको चौडाइसँगै उचाइ बढाउने काम गरिरहेको छ ।
भारतले बाँध बनाइरहेको विषयमा स्थानीय प्रशासनलाई जानकारी गराए पनि सरकारी स्तरबाट कुनै पहल नभएकोले ईशनाथ नगरपालिका १ का वडाध्यक्ष बिगु साह बनियाँले बताए । ‘दुई किलोमिटरभन्दा लामो, १५ फिटभन्दा अग्लो अनि फेदमा १० मिटरभन्दा चौडा बाँध बनाउँदा भारतले पानी निकासका लागि एउटा पनि ढोका राखेको छैन’ साहले भने, ‘स्थानीयले पटकपटक जानकारी गराउँदा सरकारी स्तरबाट रोक्ने पहल भएको छैन ।’
यता प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सीमा क्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना आएको बताए । ‘भारतीय पक्षले गरेको काम गैरकानुनी हो । हामीले तुरुन्त रोक्नु भनेका छौं’ प्रमुख जिल्ला अधिकारी घिमिरे भने, ‘डिएमसँग कुरा भए पनि भारतीय पक्षले अटेरी गरेर माटो थुपारेको छ ।’ स्थानीय स्तरमा काम गर्न आएका प्राविधिकहरूलाई समेत काम नगर्न भनिएको घिमिरेले बताए ।