परीक्षाफल वैशाखभित्रै सार्वजनिक गर्न पोखरा महागनरको निर्देशन

परीक्षाफल वैशाखभित्रै सार्वजनिक गर्न पोखरा महागनरको निर्देशन

कास्की : पोखरा महागनरपालिकाले भर्ना कार्यक्रम स्थगित राख्दै वैशाख महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ ।

महानरको शिक्षा शाखा प्रमुख गंगाबहादुर गुरुङले सूचना प्रकाशित गर्दै ‘२०७६ सालको परीक्षाफल प्रकाशित नहुँनाले विद्यार्थी र अभिभावकमा थप अन्यौलता भएको हुँदा सम्पूर्ण विद्यालयहरुले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका कोरोना भाइसरसम्बन्धि मापदण्ड प्रतिकुल नहुने गरि सम्बन्धित विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराउन अनुरोध छ ।’

महानगरले परीक्षाफल प्रकाशित भए पनि पाठ्यपुस्तक नपाउने भएकाले पुराना पाठ्यपुस्तकबाटै स्वअध्ययनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । अनलाइन कक्षा संचालनमा भने महानगरले पठनपाठन संचालनमा भने रोक लगाएको छ ।

महानगरले परीक्षाको नतिजा प्रकाशनको स्वीकृति दिएसँगै यहाँका विद्यालयहरुले विभिन्न माध्यममार्फत् परीक्षाको नतिजा प्रकाशन थालेका छन् । महानगरको सूचना अगावै पनि केही विद्यालयले परीक्षाफल प्रकाशित गरिसकेका थिए । महानगरले नै लिएको कक्षा ८ को नगरस्तरीय परीक्षाको परीक्षाफल पनि छिट्टै सार्वजनिक गर्ने तयारी महानगरको छ । पोखरामा २०७ सरकारी र १८९ निजी विद्यालय रहेका छन् । लकडाउनले सबैको भर्ना अभियान प्रभावित भएको छ । लकडाउनका कारण एसईई परीक्षा पनि स्थगन भएको छ ।

यसैबीच पोखरा महानगरपालिका वडा नम्बर १३ ले अनलाइनबाटै परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको छ । आउँदो आइतबार वडाले अनलाइनबाटै सामुदायिक विद्यालयको परीक्षाफल प्रकाशन गर्ने तयारी थालेको वडाध्यक्ष दर्शन लामाले बताए । ‘वडाभित्रका ८ विद्यालय छन् । ३३ सयको हाराहारीमा विद्यार्थी छन्’, उनले भने,‘विद्यार्थीहरुलाई पनि आफूले गरेको मेहेनत कहाँ गयो भन्ने भयो । अभिभावकको पनि गुनासो । अब आइतबार अनलाइनबाटै रिजल्ट निकाल्न थालेका छौं ।’

सबै विद्यालयको परिक्षापल वडाले आफ्नो वेबसाइट मार्फत प्रकाशन गर्नेछ । स्कुलको वेबसाइटमा पनि परिक्षाफल राखिने उनले सुनाए । ‘रिजल्ट प्रकाशित भयो भने वेबसाइटमा राख्छौं । स्कुलको भित्तामा टाँस्दैनौँ’, उनले भने । रिजल्ट सुन्नेको भीडभाड नहोस् भनेर अनलाइनबाटै सबै जानकारी दिने उनले जानकारी दिए ।

अभिभावकले कक्षा शिक्षकलाई फोन गरेर पनि परिक्षाफल बुझ्न सक्ने छन् । विद्यालय भने सरकारको अनुमतिपछि मात्रै खुल्ने उनले जानकारी दिए । ‘स्कुल त अब नेपाल सरकारबाट खोल्ने निर्णय नै भएको छैन । निर्णय के हुन्छ, त्यसपछि मात्रै खुल्छ’, उनले भने ।

अनलाइन रिजल्ट प्रकाशन गरि सकेपछि विद्यार्थीको पढ्ने, लेख्ने बानीमा पनि कमी नआउने उनको तर्क छ । वडाका सबै विद्यालयमा एउटै शैक्षिक सामग्री लागु गरेको हुँदा विद्यार्थीलाई किताबो समस्या नपर्ने उनले सुनाए । विद्यार्थीले आफ्ना दाइदिदीका किताब लिएर पनि पढ्न सक्छन्, सरकारले पनि शैक्षिक सामग्रीमा रोक नलगाउने भनेको छ । चाहिए अरु पनि ल्याउँछौं’,उनले भने,‘विद्यार्थीले किताब नपाएर पढ्न नपाउने भन्ने हुँदैन ।

रिजल्ट आइसकेपछि विद्यार्थीहरु त्यही हिसाबले तयार पनि हुन्छन् ।’ वडाका ८ विद्यालयमा करिब ३३ सयको हाराहारिमा विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । यसअघि विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने योजना ल्याए पनि महानगरले रोक लगाइसकेको छ । गण्डकी प्रदेश सरकारले सावधानी अपनाएर अत्यावश्यक क्षेत्र खोल्ने तयारी थाले पनि शैक्षिक संस्थाको विषयमा निर्णय भइसकेको छैन ।

वडा नम्बर–१३ ले स्मार्ट वडा बन्ने यसअघि पनि अभ्यास गर्दै आएको छ । अनलाइनबाटै परिक्षाफल प्रकाशन गर्ने अभ्यास सम्भवत पोखरा वडा नम्बर १३ कै पहिलो हो ।

सम्बन्धित खवर