रतुवामाईलाई धान सुपरजोन बनाउन प्रस्ताव

रतुवामाईलाई धान सुपरजोन बनाउन प्रस्ताव

विराटनगर : उन्नत जातको बीउ, मल, औषधि तथा सिंचाई सेवामा सहयोग हुने भएपछि मोरङको रतुवामाई नगरपालिकामा दुई वर्ष अघि स्थापना भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ‘धान जोन’प्रति किसानहरुको आकर्षण बढेको छ । धान जोन कार्यक्रममा सहभागिता जनाउन चाहनेहरुको संख्या थपिएपछि जोन कार्यालयलाई सुपरजोनमा विकास गर्न कार्यालयले नेपाल सरकारसँग अनुरोध गरेको छ । सुपरजोन बनाउदा नगरपालिकाको वडा नम्बर ६ देखि १० सम्म समावेश गर्ने प्रस्ताव अगाडि बढाइएको छ ।

जोन कार्यक्रम सञ्चालन गर्नका लागि न्युनतम ५ सय हेक्टर भन्दा बढी जमिन आवश्यक पर्छ भने सुपरजोनमा विकास गर्दा १ हजार हेक्टर जमिन समावेश भएको हुनुपर्छ । रतुवामाई नगरपालिका वडा नम्बर ६ र ८ का किसानहरुले सुपरजोन बनाउन आवश्यक पर्ने भन्दा बढी जमिन व्यवस्था गर्ने तत्परता देखाएको र जोन कार्यालयमा निरन्तर किसानका तर्फबाट दवाव परेपछि सुपरजोनको माग गरको बताइएको छ । यि दुई वार्डमा ४ हजार ५ सय हेक्टर धान खेतीयोग्य जमिन छ ।

अनुदानमा धानको बीउ

यो वर्ष धान जोन कार्यक्रम अन्तरगत समेटिएका रतुवामाई नगरपालिकाका दुई वटा वडाका किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ बितरण गर्ने प्रकृया अगाडि बढाइएको छ । त्यसमा किसानहरुले सरकारले सिफारिस गरेका विभिन्न जातको बीउ को माग गरेका छन् । धान खेती प्रवद्र्धन गर्दै आधुनिक खेती प्रणालीको विकास गर्ने उद्देश्यले सुरु भएको जोन कार्यक्रम मार्फत किसानहरुलाई आधा मूल्यमा धानको बीउ पलव्ध गराउने जोन कार्यक्रमका अध्यक्ष द्रोणबहादुर पौडेलले जानकारी दिनुभएको छ ।

 

दुई वडाका करिव २७ सय किसानलाई यस वर्ष करिव ३२ हजार किलो अर्थात ३२ मेट्रिक टन उन्नत जातका गुणस्तरीय धानको बीउ वितरण गर्ने तयारी गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । जोन कार्यालयले झापाको महारानी झोडा साना किसान कृषि सहकारी संस्थासँग धानको बीउ खरिद गर्ने प्रकृया अगाडि बढाएको छ । यो वर्ष १६ लाख रुपैंयाको बीउ खरिद गर्ने र किसानहरुले त्यो ८ लाखमै प्राप्त गर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । जोन कार्यालयले दुई वटा वडाका ३१ समूह मार्फत किसानहरुलाई धानको बीउ उपब्ध गराउने तयारी गरेको छ । त्यसका लागि साझेदारको रुपमा रहेका दुई साना किसान समूह र रुपान्तरण कृषि सहकारीको सहयोग रहने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

 

रतुवामाई नगरपालिका मोरङ जिल्लामा नै चैते धान खेती धेरै गर्ने क्षेत्र हो । नगरपालिकाका अधिकांश खेतमा यतिबेला चैतेधान लहलहाउँदो भएको छ । चैते धान निकालेर वर्षे धान लगाउन किसानहरु यतिबेला मल र बीउको जोहो गर्न जुटेका छन् । जोन अन्तरगतका किसानहरुलाई जोन कार्यक्रममाले सहयोग र समन्वय गर्दै आएको छ भने अन्य किसानहरुले आफु आवद्ध सहकारी र समूह मार्फत आफ्ना आवश्यकता पुर्ति गर्दै आएका छन् ।

उपकरण भित्र्याउदै

गतवर्ष १५८ वटा पावर स्प्रेयर ट्यांकी, ३१ वटा सिंचाई मोटर, झार मार्ने र हानिकारक किरा मार्ने विषादी तथा थोरै परिमाणमा बीउ अनुदानमा उपलव्ध गराएको जोन कार्यक्रममले यस पटक बीउ, मलखाद तथा सिंचाई मोटरमा बढी लगानी गर्ने योजना बनाएको छ । जसबाट किसानहरुले प्रत्यक्ष लाभ प्राप्त गर्ने छन् ।

यसैगरी खेतबाट काँचो धान कम मूल्यमा बिक्री गर्नुपर्ने वाध्यता अन्त्य गर्न चैते धान सुकाउने प्रयोजनका लागि जोन कार्यालयले यसबै वर्ष करिव ४० मेट्रिक टन क्षमताको ड्रायर मेसिन (धान सुकाउन उपकरण) खरिद प्रकृया अगाडि बढाएको छ । प्रदेश सरकारको अनुदान सहयोगमा धान जोन अन्तरगत रहने गरी सुकाउने मेसिन खरिद गर्न लागेको र बोलपत्रमार्फत प्रस्ताव प्राप्त भइसकेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यस्तै जोन कार्यालयले यसै वर्ष धान काट्ने मेसिन र ट्रयाक्टर खरिद गरेर आधुनिकीकरण तर्फ अगाडि बढ्ने तयारी गरिरहेको छ ।

सम्बन्धित खवर