मानसिक दरिद्रता नगर्न रतुवामाईका राजनीतिक दलहरुलाई मेयर राईको आग्रह

मानसिक दरिद्रता नगर्न रतुवामाईका राजनीतिक दलहरुलाई मेयर राईको आग्रह

बैशाख २३, इटहरा : मोरङ रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईका विरुद्धमा चारवटा राजनीतिक दलले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् ।

मेयर राईको नेतृत्वमा वडा नम्बर ५ गोविन्दपुर बजारमा चिया पसल गरी बस्ने गंगा भगतको घर भत्काइदिएको दाबी गर्दै मंगलबार विज्ञप्ती जारी गरिएको हो । विज्ञप्ती जारी गर्ने दलहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनता पार्टी रहेका छन् ।

विज्ञप्तीमा बैशाख १८ गते भगतले आफ्नै नाममा दर्ता कायम रहेको २ कट्ठा १३ धुर जग्गमा बनाउँदै गरेको घर मेयर राईले मान्छे लगाएर हुकुमी र गुण्डागर्दी शैलीमा भत्काइदिएको भनिएको छ । घर भत्काएर घरका सरसामान समेत यत्रतत्र छरिदिएको पनि विज्ञप्तीमा उल्लेख छ ।

बजार व्यवस्थापन गर्ने भन्दै मुलुकमा कोरोना भाईरसको महामारी र लकडाउनले जीवन कष्टकर बनिरहेको बेला बास उठाएर बिचल्ली पारेको उल्लेख गर्दैै विज्ञप्तीमा सोप्रति भत्र्सना गरिएको छ । मेयर राईको उक्त कार्यलाई गैर जिम्मेवारी हर्कतको संज्ञा दिइएको छ ।

समाजमा खलल आउने यस्ता गतिविधि तत्काल बन्द गरी सहमति र कानुनी निकास खोज्न पनि विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

विज्ञप्तीमा नेकपाका शिवनारायण राजवंशी, सङ्घीय समाजवादी पार्टीका कृष्णप्रसाद ढकाल, राप्रपाका पूर्ण पौडेल र राजपाका निमचन्द शाहको हस्ताक्षर रहेको छ ।

उता यस सम्बन्धमा नगरप्रमुख राईले नियम कानुन कुनै दल र व्यक्ति बिशेषलाई मात्र नभई सबैलाई बराबरी लागु हुने टिप्पणी गर्नुभयो ।

भगतको २ कट्टा १३ धुर मध्ये ४ धुर जग्गा गोविन्दपुर बजारमा पर्ने र त्यसभित्र उहाँले निर्माण गरेको टहराको टाटीबार बजार व्यवस्थापन समितिका सदस्यहरुले निकालेर एक ठाँउ राखिदिएको मेयर राईको भनाई छ ।

भगतले आफू स्वयम् बजार व्यवस्थापन समितिको अध्यक्ष भएको बेला निर्माण गरेको बजार क्षेत्रको नाला भन्दा बाहिर टहरो बनाउन थालेकाले नगरपालिकाले त्यसो नगर्न जानकारी गराएको तर उहाँले नमानेकाले बजार व्यवस्थापन समितिले टाटीबेरा फुकालिदिएको नगरप्रमुख राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०३८ सालमा साविक गोविन्दपुर बजारमा बक्राह खोला पसेपछि यो ठाँउमा बजार सारिएको हो । स्थानीयबासीले जग्गा दिएरै बजार बसाइएको हो । आफूले दिएको जग्गा धेरैले बजारका नाममा रजिस्ट्रेसन पास गरिदिसक्नु भएको छ । कति जनाले जग्गा बैंक र सहकारीमा धितो राखेकाले पास गरिदिन सक्नुभएको छैन । गंगा जिले किनेको जग्गा मध्ये ४ धुर जति बजारमा पर्छ । उहाँले त्यो जानीजानी किन्नु भएको हो । उहाँले पास गरिदिनु पर्ने हो । अहिले आएर उल्टै घरटहरा बनाउन थाल्नुभयो । नगरपालिकाले उहाँलाई यसो नगर्न पटकपटक सचेत गराउँदै आएको छ । ”

कोरोना भाईरसको महामारीसँग जुध्नु परिरहेको यस्तो बेला राजनीतिक दलहरुले धमिलो पानीमा माछा मार्न थालेको भन्दै मेयर राईले दुखेसो व्यक्त गर्नुभयो । सबै राजनीतिक दलहरु एकजुट भएर लाग्नु पर्ने बेलामा मसँग कुनै पनि कुरा नसोधी बिषयवस्तुलाई अतिरञ्जना गरेर विज्ञप्ती निकाल्नु भएको छ, मेयर राईले भन्नुभयो, “ यो उहाँहरुको मानसिक दरिद्रता हो ।”

भगतसँग ३५ वर्षदेखि आफ्नो मित्रता रहेको पनि मेयर राईले सुनाउनु भयो । भगतले गत तीनवटै चुनावमा नेपाली काङ्ग्रेसलाई सहयोग गरेको उल्लेख गर्दै आफ्नो बचपनदेखिको साथीका नाताले समेत उहाँलाई व्यक्तिगतरुपमा पनि आफूले धेरै पटक त्यसो नगर्न सम्झाएको नगरप्रमुख राईले बताउनुभयो ।

व्यक्तिका नाममा दर्ता कायम रहेका धेरै जग्गाहरु सरकारी क्षेत्रमा पर्छन् भन्दै उहाँले प्रति प्रश्न गर्नुभयो, आमबारीदेखि उर्लाबारीसम्म हेर्दै जाने हो भने धरै व्यक्तिका नाममा रहेको जग्गाहरु सडकको क्षेत्राधिकारभित्र पर्छन्, के अब त्यहाँ घर बनाउन मिल्छ ?

सम्बन्धित खवर