राहत सङ्कलनार्थ ‘फुड बैंक’ सञ्चालन

राहत सङ्कलनार्थ ‘फुड बैंक’ सञ्चालन

काभ्रेपलाञ्चोक : विपन्न परिवारलाई राहत वितरण गर्न काभ्रेपलाञ्चोकको स्थानीय तहले ‘फुड बैंक’ सञ्चालनमा ल्याएका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि सरकारद्वारा क्रमशः थपिएको लकडाउनका कारण खाद्य जोखिम न्यूनीकरण गर्न फुड बैंक स्थापना गरिएको जनाइएको छ ।

राहत सङ्कलन तथा वितरणमा एकद्वार प्रणाली लागू गराउन यहाँका दुई नगरले फुड बैंकको अवधारणा ल्याएका हुन् । नमोबुद्ध नगरपालिकाले हालैमात्र फुड बैंक स्थापना गरी आफ्ना क्षेत्रका विपन्न परिवारलाई राहत वितरण गरिरहेको छ । पहिलो चरणमा विपन्न परिवार पहिचान गरी सोही आधारमा राहत वितरण भइरहको नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले बताउनुभयो । “असङ्ठित क्षेत्रका मजदुरलाई विशेष प्राथमिकता दिँदै राहत वितरण गर्दैछौँ”, तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार नगरका ५८० विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरण भइरहेको छ ।

नगरले प्रतिपरिवार एक बोरा चामल, दुई केजी दाल, दुई लिटर तेल र दुई केजी नुन वितरण गरेको हो । नगरद्वारा सञ्चालित फुड बैंकमा राहत आउने क्रम जारी भएकाले थप विपन्न परिवार पहिचान तथा दोस्रो चरणको राहत वितरबारे नगर कार्यपालिका बैैठकमा छलफल भइरहेको वडाध्यक्ष तथा नगर प्रवक्ता सञ्जीव ढकालले बताउनुभयो । उहाँका अनुसार अन्य संस्था एवं दाताबाट राहत लिएकालाई हाल नगरको राहत वितरण गरिएको छैन । फुड बैंकमा हालसम्म १९ हजार किलो चामल, एक हजार २०० किलो दाल, एक हजार ३०० लिटर तेल र एक हजार ५०० किलो नुन सङ्कलन भएको छ । ढकालले भन्नुभयो, “फुड बैंकमा राहत आउने क्रम जारी छ ।”

यस्तै पनौती नगरले एक महिनाअघि नै फुड बैंक सञ्चालनमा ल्याएको थियो । नगरका अतिविपन्न परिवारलाई पहिलो चरणको राहत प्याकेज वितरण गरिएको थियो । नगरले वडामार्फत छनोट भएका १३० अतिविपन्न परिवारलाई एक हप्ताका लागि खाद्यान्नसहित फुड बैंकमा उपलब्ध स्वास्थ्य सामग्रीको प्याकेज वितरण गरिएको नगरप्रमुख भीम न्यौपानले बताउनुभयो । उहाँले भन्नुभयो, “राहत सङ्कलन तथा वितरणमा एकद्वार प्रणाली लागू गराउन हामीले जिल्लामा पहिलोपटक फुड बैंक स्थापना ग¥यौँ ।”

न्यौपानेका अनुसार दोस्रो चरणमा सडक, सिँचाइ, खानेपानीजस्ता निर्माणका क्षेत्रमा खटेका मजदुर तथा अन्यत्रबाट आएका विपन्न ४७० परिवारलाई पहिलो प्याकेज हुँदै हालसम्म तेस्रो चरणको राहत वितरण भइरहेको छ । नपाले ‘फुड बैंक’ स्थापना गरी दाता तथा नगरको रु २० लाखबाट स्वास्थ्य सामग्रीसहित चरणबद्ध राहत वितरण गर्दै आएको हो । नगरको राहत प्याकेजअन्तर्गत चार जनासम्मको परिवारलाई १० किलो चामल र त्योभन्दा बढी भएमा २५ किलो, दाल, आलु, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, बिस्कुट, साबुन, चिनी, चियापत्ती, चिउरा, दालमोठलगायत १७ प्रकारका छन् ।

“सबैलाई एकैपटक राहत उपलब्ध दिन नसक्ने भएकाले चरणबद्ध योजना बनाएका हौँ, लकडाउन अझै लम्बिए सोहीअनुसार राहतको व्यवस्था गरी दोस्रो प्याकेजमा राहत वितरण गर्नेबारे छलफल भइरहेको छ”, न्यौपानेले भन्नुभयो । फुड बैंकमा हालसम्म १०० भन्दा बढी सङ्घसंस्थाले राहत सहयोग गरिसकेका छन् । रासस 

सम्बन्धित खवर