कर्णाली प्रदेशका सबै नाका राति १२ बजेदेखि सिल

कर्णाली प्रदेशका सबै नाका राति १२ बजेदेखि सिल

कर्णाली प्रदेशका सबै नाकाहरु सोमबार राति १२ बजेदेखि सिल गर्ने भएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको हो ।

कर्णालीसंग सिमा जोडिएको नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या वढेपछि प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले नाका सिल गर्ने निर्ण गरेको हो । बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको छ।

बैठकले भारत तथा तेस्रो मुलुकबाट प्रदेश भित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार गरेर प्रदेश सरकारलाई जानकारी गराउन भनेको छ । सोही तथ्याङ्कको आधारमा भारत र तेस्रो मुलुकबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्‍याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय पनि गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर