गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आज जिल्ला प्रहरी कार्यालय तनहुँ र लमजुङको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायीक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुबाट सम्पादन हुने विभिन्न गतिविधिहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्त दुरुष्त एवं जनलक्षित बनाउन उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
निरीक्षणको शिलसिलामा जिल्ला प्रहरी कार्यलय तनहुँ र लमजुङ पुग्नु भएका प्रहरी नायव महानिरिक्षक अर्यालले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्ना शाखाहरु, मेस, ब्यारेक लगायत अन्य स्रोत साधनहरुको निरीक्षण गर्नु भएको थियो ।
त्यसतै जिल्ला प्रहरी कार्यालय तनहुँ र लमजुङका प्रहरी प्रमुखले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाइरस संक्रमण फैलन नदिन जिल्ला अन्तर्गत प्रहरीले गरिरहेका विविध गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले प्रत्येक प्रहरी कर्मचारीहरुले आम नागरिकका भावनाको उच्च सम्मान गर्दै आचरणयुक्त साथै उच्च प्रहरी व्यवसायीकता झल्किने गरी जनमुखी प्रहरी सेवा प्रदान गर्नु आजको प्रमुख आवश्यकता भएको बताउँदै व्यवसायीक कार्य दक्षतापूर्ण प्रहरी जनशक्तिबाट मात्रै प्रहरी संगठनको उद्देश्य हासिल हुने कुरा बताउनुभयो ।
त्यस्तै विश्वभर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेकाले प्रहरी कर्मचारीहरु पनि सावधानीका लागि अपनाउनु पर्ने सुरक्षाका विधिहरु अनिवार्य रुपमा अपनाई आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हरसम्भव लाग्नुपर्ने बताउँदै जिल्लामा यस रोगको संक्रमण फैलन नदिन सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय गर्दै प्रभावकारी रुपमा काम गर्न गराउन समेत निर्देशन दिनुभएको छ ।
साथै उक्त निरीक्षण कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्ण समेतको उपस्थिति रहेको थियो ।