खेलाडीको पीडा : समयमै उपचार नपाउँदा दुबै आँखा गुम्यो

खेलाडीको पीडा : समयमै उपचार नपाउँदा दुबै आँखा गुम्यो

उदयपुर । कोरोना भाइरस कोभिड १९ को लागि उदयपुरको भुल्के केन्द्रविन्दका रुपमा देखा परेसँगै जिल्लाकै मानिस विरामी परे उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा सकस हुँदै गएको छ । विराटनगर र धरानका सबै अस्पतालका डाक्टर उदयपुरको नाम सुन्ने बित्तिकै बिरामी उपचार गर्ने कार्यमा लापारबाही गर्नुका साथै भर्ना लिन छाडेका छन् ।

बेलका नगरपालिका ५ की १६ वर्षीय समीक्षा मगरले समयमै उपचार नपउँदा आँखाको दृष्टि गुमाउन पुगेकी छिन् । बैशाख १२ गते बुबा दलबहादर र आमासँगै खेतमा सिमल तरुल खन्ने क्रममा दाहिने आँखामा चोट लाग्यो । चोटले रातभर खासै दुख दिएन । तर, भोलिपल्ट मध्याह्नमा उनको आँखामा समस्या र दुखाई सुरु भयो । बुबा दलबहादुरले तत्कालै बेलका नगरपालिका ९ रामपुर ठोक्सिलास्थित स्वास्थ्य चौकीमा उपचारका लागि विरामीलाई पुराए । त्यहाँ उपस्थिती चिकित्सकले आँखाको नानीमा चोट भएकाले धरान स्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान सुझाव दिए ।

आँखामा दुखाई बढ्दै जाँदा शरीरमा तापक्रम बढ्यो । आँखाको उपचार गर्न बिपी पुगेको बिरामीलाई चिकित्सकहरूले कोरोनाको शंकास्दपमा तीन दिन आइसोलेसनमा राख्यो ।

आइसोलेसनमा बस्दा सीमित औषधि प्रयोग गर्दा आँखाको राम्रो र समयमा उपचार हुन सकेन । ३ दिन आइसोलेसनमा बसेपछि समीक्षाको बैशाख १६ गते कोरोना रिपोर्ट नेगेटिभ आयो । त्यसपछि बिपीले आँखाको नानीमा समस्या जनाउँदै विराटनगरस्थित विराटनगर आँखा अस्पताल लैजान भन्यो । बिपीले १८ गते डिस्चार्ज दियो ।

यतिञ्जेलसम्म आँखामा चोट लागेको ६ दिन वितिसकेको थियो । तर, युवतीको आँखामा कुनै सुधार हुन सकेको थिएन । थप उपचारका लागि विराटनगर आए पनि आँखामा नराम्ररी चोट लागेको कारण दृष्टि गुमिसकेको अस्पतालले जनाएको छ ।

आँखाको नानी जोगाउन नै गाह्रो अवस्था रहेको जनाएको अस्पतालले परिवारसँग सल्लाहगरि अघि बढ्ने जनाएको छ । अस्पतालका डा। विक्की गुप्ताका अनुसार विरामीको आँखामा चोट रहेको र कति सम्म जोगाउन सकिन्छ त्यसबारे उपचार गरिने जानकारी दिए ।

‘उदयपुरबाट आएको विरामी भन्नसाथ तीन दिन आइसोलेसनमा राख्दा उपचारमा समस्या भयो । बिपीले समयमै आँखाको हेर्न अर्कोतर्फ जानु भनेको भए उपचारका लागि धेरै समय यतै रोकिनु पर्ने थिएन । ढिलो हुने थिएन ।’ पीडितका बुबा दलबहादुरले भने, ‘उपचार आँखाको गर्नु पर्ने, खोज्न थाले कोरोनाले गर्दा मेरो छोरीको आँखा गुमेको छ । समयमै उपचार हुँदा छोरीको आँखाको ज्योति त गुम्ने थिएन ।’ बुबा दलबहादुरका अनुसार आँखाको ज्योति गुमि नै सक्यो तर, अव आँखाको दाना बचाउने कोषिसमा डाक्टरहरु लागि परेको जानकारी दिए ।

अहिलेको अवस्थामा ज्वरो आउना साथ विरामी भर्ना नलिनु र कोरोनाकै शंकाले हेर्ने अस्पतालको परिपाटीले सर्वसाधारणलाई समस्या पर्दै गएको पीडितका बुबाले बताए ।

एक दाई एक दिदीसहित कान्छी बहिनी समिक्षाको परिवार बुबाको खेती किसान पेशाले धानेको थियो । स्थानीय लिटिल स्टार स्कुलमा कक्षा ८ मा अध्यनरत समिक्षा अवल विद्यार्थी हुन् ।पढाईका साथै समिक्षा आफैँ पनि फुटबल खेलाडी हुन् । स्थानीय तहसंगै काठमाडौंमा आयोजित प्रतियोगितामा समेत सहभागिता जनाइसकेकी समिक्षाको उपचारमा सहयोगका लागि महिला प्रशिक्षक भगवती रानामगरले आग्रह गरेकी छिन् । प्रशिक्षक भगवति भन्छिन्, ‘मेरै प्रशिक्षणमा खेल्दै आएकी हुन् ।

अग्रपंक्तिबाट खेल्ने समिक्षाको संभावना राम्रो छ । तर आँखाको चोटका कारण भविष्य के हुने हो अन्योल भएका छौं ।’
आर्थिक अवस्थाले समेत कमजोर मगर परिवारलाई उपचारका लागि शुक्रबार एन्फाका तर्फबाट सहायक महासचिव बसन्त अर्यालले २५ हजार र स्थानीय विराट सांग्रिला फुटबल क्लबले २५ हजार रुपैया उपलब्ध गराएको छ ।

सम्बन्धित खवर