उदयपुर । बिराटनगर स्थित नोवेल शिक्षण अस्पतालले नागरिकको बाँच्न पाउने नैसर्गिक र संवैधानिक अधिकारको साथै मानव अधिकारको हनन गरेको भन्दै उदयपुरबासी आक्रोशित भएको छ ।
आइतबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रदेश सांसदद्वय विमल कार्की र नारायण बुर्जामगर र नेपाल पत्रकार महासंघ उदयपुर शाखा अध्यक्ष भरत खड्काद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा नोवेल शिक्षण अस्पतालले उदयपुर भएकै कारण गर्भवत्ती महिलाप्रति गरेको व्यवहारप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोना भाइरसको माहामारी संकटको बेला स्वास्थ्य क्षेत्र संवेदनशिल र सकरात्मक सहयोगको लागि तयारी हुनु पर्ने अवस्था रहेपनि क्रिटिकल अवस्थाको विरामी नै उपचारबाट वन्चित हुनुले आफुहरुको ध्यानकर्षण भएको विज्ञप्तीमा जनाएको छ । एक सुत्केरी महिलालाई उपचारबाट बन्चित गर्नु गैरकानुनी र अपराधमुखी काम रहेको भन्दै कुनै पनि जनताहरुको स्वास्थ्य उपचार भनेको नैसर्गिक अधिकार रहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
देशमै ठुलो संख्या र १ नं प्रदेशको पहिलो कोरोना संक्रमित जिल्लारुपमा केहि समय यता उदयपुरको चर्चा चलिरहेको छ । यो वेला अझै सेवा सुविधा र सहयोगमा जुट्नु पर्ने अवस्थामा हस्पिटलको यो क्रियाकलाप प्रति स्थानीय सरकार र प्रदेश सरकारको गम्भिर ध्यानकर्षण रहेको भन्दै त्यहाँको सम्पूर्ण विज्ञान तथा प्रचार प्रसार उदयपुरमा ठप्प बनाउने त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले बताए ।
कोरोना माहामारीको वेला एकले अर्काको सहयोग हौसालामा जुट्नु पर्नेमा अस्पतालले नै अमानविय व्यवहार गरेको भन्दै त्यहाँको सम्पूर्ण विज्ञापन उदयपुरमा निषेध गर्ने जनाएको छ ।
यस्तै प्रदेश सांसद विमल कार्कीले नोवेल अस्पतालले मातृशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत राज्यबाट अनुदान प्राप्त गर्ने तर उपचार नगर्ने अस्पताललाई तत्काल कारबाही गर्नु पर्ने बताए ।
उनले भने, ‘नोवेल अस्पतालले उदयपुरकै भएका कारण सुत्केरी हुनबाट वञ्चित गराएकोमा गम्भिर प्रकृतिको अपराध भएकोले यस प्रति सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।’
अर्का प्रदेश सांसद नारायण बुर्जामगरले नोवेल अस्पतालको गैरजिम्मेबारको प्रदेश सरकार र केन्द्र सरकारले छानविन गरी कडा भन्दा कडा कारबाही गर्नु पर्ने बताए । उनले भने, ‘अन्य विरामी भए दुई चार दिनपछि पनि उपचार गर्न सकिन्छ, तर, सुत्केरी हुन गएको विरामीलाई ततकालै उपचार गर्नु पर्ने हुन्छ ।
कोरोना संक्रमित क्षेत्रबाट आएकै कारण अपरेशन थिएटरमा छिराएको विरामीलाई उपचार नगर्ने भनेर रेफर गर्नु अस्पतालको गैरजिम्मेबारीपन हो ।’
त्रियुगा नगरपालिका ११ की २९ बर्षिया सुत्केरी महिला सरस्वती रौनियारलाई उदयपुरकै भएका कारण नोवेल हस्पिटलले सुत्केरी हुनबाट वन्चित गरेको थियो । मेयर चौधरीले बिज्ञापन तथा प्रचार प्रसारमा निषेध गर्न सबै निकायहरु नागरिक, स्थानीय सरकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संञ्चाकर्मी, संघसंस्था, लगायतका सबै पक्षहरुलाई अनुरोध गर्नुभएको छ ।
यसैबीच उदयपुरका नागरिक समाजले समेत उक्त घटनामा विरोध जनाएका छन् । गर्भवती महिलालाई अपरेशन थिएटरबाट निकालेर घृणा फैलाएको भन्दै ११ वटा संघसंस्थाहरुले आइतबार ध्यानाकर्षण सार्वजनिक गर्दै विरोध जनाएका हुन् ।
उनीहरुले घटनाको छानबिन र कारवाही गर्न समेत माग गरेका हुन् ।यस्तै हातको अप्रेशनका लागि भर्ना भएका उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षका भीमबहादुर खत्रीलाई शुक्रबार अप्रेशन थिएटरबाटै नोवेलले निकालेको छ ।
बारीमा घाँस काट्ने क्रममा लडेका खत्रीको देब्रे हात भाँच्चिएको छ । उपचारका लागि बिहीबार नोबलमा भर्ना भएका उनलाई डाक्टरले शुक्रबार बिहान ९ बजे शल्यक्रिया गर्ने समय दिएका थिए ।
शल्यक्रियाका लागि ३२ हजार रुपैयाँ बुझाई सकेर अप्रेशन थिएटरमा लगिसकेपछि डाक्टरले भीमलाई ठेगाना सोध्दा उदयपुर भनेपछि निकालिदिएका हुन् ।
थिएटरबाट निकालिएका विरामी भतिजलाई लिएर काका शमशेरबहादुर खत्री कोशी अस्पताल पुगेका छन् । कोशीले उनलाई आइतबार शल्यक्रिया गरिदिने बताएको छ ।