पाेखरा : पोखरामा एक मजदुरको हत्या भएको छ । शनिबारराति पोखरा महानगरपालिका– २० बिसाउनास्थित मजुवामा मजदुरको हत्या भएको हो ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ मुलखर्क घर भई पोखरामा ज्याला मजदुरीको काम गर्ने अन्दाजी ५५ वर्षका टंकबहादुर तामाङको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
करीब एक महिनादेखि स्थानीय बाटोमा काम गर्दै आएका उनलाई उनकै भतिज इन्द्र तामाङ्ग लामाले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । इन्द्र तामाङ लामा आइतबार बिहानदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
शवको टाउकोमा चोट देखिएको छ । शरीरभरि रगतका टाटा छन् । मृतक तामाङको टाउकोमा गहिरो चोट लागेको र आँखा समेत फुटेको बताईएको छ ।
प्रहरी घटनास्थलमा पुगेर घटनास्थल प्रकृति मुचुल्का गरी शब पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरी प्रमुख कार्कीले जानकारी दिए । प्रहरीले फरार भएका तामाङको खोजी भइरहेको जनाएको छ ।